भेनेजुयलामा शक्तिशाली दोहोरो भूकम्प, राजधानी काराकाससहित विभिन्न क्षेत्रमा ठूलो क्षति

User Image Prime TV News ३ हप्ता अगाडि
Image of भेनेजुयलामा शक्तिशाली दोहोरो भूकम्प, राजधानी काराकाससहित विभिन्न क्षेत्रमा ठूलो क्षति

काठमाडौ । दक्षिण अमेरिकी देश भेनेजुयलामा बुधबार शक्तिशाली दुई भूकम्प गएपछि राजधानी काराकाससहित विभिन्न क्षेत्रमा भवनहरू भत्किएका छन् र उद्धार कार्य तीव्र रूपमा सञ्चालन भइरहेको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार पहिलो भूकम्प ७.२ म्याग्निच्युडको थियो भने त्यसको करिब ४० सेकेन्डपछि ७.५ म्याग्निच्युडको अझ शक्तिशाली दोस्रो भूकम्प गएको थियो। दुवै कम्पनको केन्द्र काराकासको पश्चिम क्षेत्रमा रहेको बताइएको छ।

भूकम्पपछि हजारौं नागरिक घर र कार्यालयबाट बाहिर निस्केर खुला स्थानमा पुगेका थिए। सरकारी अधिकारीहरूले केही भवन तथा संरचना भत्किएको पुष्टि गर्दै सम्भावित परकम्पको जोखिमका कारण नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्।

प्रारम्भिक मूल्याङ्कनमा ठूलो मानवीय र भौतिक क्षतिको जोखिम देखिएको भए पनि आधिकारिक मृतक र घाइतेको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन। उद्धार टोलीहरू प्रभावित क्षेत्रमा खोज तथा राहत कार्यमा परिचालित छन्।

स्थानीय समयअनुसार साँझतिर गएको भूकम्प राष्ट्रिय बिदाको दिन परेकाले धेरै मानिस घरमै रहेका बेला महसुस गरिएको बताइएको छ। कम्पन राजधानी काराकास मात्र होइन, देशका अन्य भाग तथा छिमेकी कोलम्बियासम्म पनि महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भूकम्पपछि केही क्षेत्रमा यातायात, सञ्चार तथा पूर्वाधारमा असर परेको छ। अधिकारीहरूले अवस्था सामान्य नभएसम्म सतर्कता अपनाउन र आधिकारिक सूचनालाई मात्रै आधार बनाउन आग्रह गरेका छन्।