विनीसियस चम्किँदा स्कटल्यान्डमाथि ब्राजिलको सहज जित, नकआउट चरणमा स्थान सुरक्षित
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो प्रभावशाली उपस्थिति कायम राखेको छ।
अमेरिकाको मायामी स्टेडियममा सम्पन्न खेलमा सुरुदेखि नै आक्रामक देखिएको ब्राजिलले स्पष्ट जित निकाल्दै अर्को चरणको यात्रा सुनिश्चित गरेको हो। ब्राजिलको जितमा स्टार फरवार्ड विनीसियस जुनियर नायक बने। उनले दुई गोल गरे भने माथिअस कुन्हाले एक गोल थपे।
खेलको सातौँ मिनेटमै विनीसियसले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि पनि निरन्तर दबाब बनाएको ब्राजिलले पहिलो हाफको इन्जुरी समयमा पुनः विनीसियसमार्फत गोल थप्दै अग्रता २–० मा पुर्यायो।
दोस्रो हाफमा पनि ब्राजिलले खेलमा नियन्त्रण कायम राख्यो। खेलको ६०औँ मिनेटमा माथिअस कुन्हाले अर्को गोल गर्दै टोलीलाई ३–० को आरामदायी अवस्थामा पुर्याए।
त्यसपछि ब्राजिलले आफ्नो रक्षापंक्तिलाई व्यवस्थित राख्दै खेलको बाँकी समय सहज रूपमा नियन्त्रण गर्यो। स्कटल्यान्डले केही अवसर सिर्जना गरे पनि गोल फर्काउन सफल भएन।
यो जितसँगै समूह ‘सी’ बाट ब्राजिल र मोरक्कोले नकआउट चरण अर्थात् अन्तिम ३२ मा स्थान सुरक्षित गरेका छन्। पराजित स्कटल्यान्डको भने अर्को चरण पुग्ने सम्भावना निकै कमजोर बनेको छ।
लगातार सन्तुलित प्रदर्शन गरिरहेको ब्राजिललाई यसपटक उपाधिको प्रमुख दाबेदार टोलीमध्ये एकका रूपमा हेरिएको छ।







