मानव अधिकार संरक्षण सरकारको मुख्य दायित्व : आयोग अध्यक्ष मगर

User Image Prime TV News ३ हप्ता अगाडि
Image of मानव अधिकार संरक्षण सरकारको मुख्य दायित्व : आयोग अध्यक्ष मगर

काठमाडौ । राष्ट्रिय मानब अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने मुख्य जिम्मेवारी सरकारको भएको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै अध्यक्ष मगरले व्यवसाय सञ्चालनका क्रममा कुनै पनि प्रकारको मानव अधिकार उल्लङ्घन हुन नदिन सरकार सचेत र जिम्मेवार हुनुपर्ने बताएका हुन्।

उनले व्यवसाय सञ्चालन गर्दा श्रमिक, उपभोक्ता तथा सरोकारवालाको अधिकारको सम्मान गर्न व्यवसायीहरूलाई आग्रह गर्दै मानव अधिकारमैत्री व्यावसायिक अभ्यास अवलम्बन गर्नुपर्नेमा जोड दिए। अध्यक्ष मगरले मानव अधिकार उल्लङ्घनका घटनामा आयोगले निरन्तर निगरानी गरिरहेको र दोषीमाथि आवश्यक कारबाहीका लागि सरकारलाई निर्देशन तथा सिफारिस गर्दै आएको पनि स्पष्ट पारे।

उनले भने, “मानव अधिकारको संरक्षण र संवर्द्धन गर्ने काम सरकारको हो। व्यवसाय सञ्चालनका क्रममा कुनै किसिमको मानव अधिकार हनन भए सरकारले त्यसको प्रभावकारी निगरानी गर्नुपर्छ। व्यवसायीहरूले पनि आफ्नो व्यवसाय सञ्चालन गर्दा मानव अधिकारको पूर्ण सम्मान गर्नुपर्छ।”

अध्यक्ष मगरले सरकारबाट अनुमति प्राप्त कुनै पनि व्यवसायका कारण उपभोक्ताको अधिकार हनन हुन नहुने उल्लेख गर्दै आर्थिक गतिविधि र मानव अधिकारबीच सन्तुलन कायम गर्न आवश्यक रहेको बताए। कार्यक्रममा सहभागी वक्ताहरूले पनि व्यवसाय, लगानी, श्रम अधिकार तथा उपभोक्ता हितलाई मानव अधिकारका दृष्टिकोणबाट हेर्नुपर्ने आवश्यकता औँल्याएका थिए।