रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा तीव्र, ‘बालेन समूह’ मनोनयन मार्फत नेतृत्वमा पुग्ने रणनीतिमा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा तीव्र, ‘बालेन समूह’ मनोनयन मार्फत नेतृत्वमा पुग्ने रणनीतिमा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय समिति चयनका लागि चितवनमा चुनावी सरगर्मी तीव्र बनेको छ। ९९ केन्द्रीय सदस्यका लागि ३५५ भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन् भने प्रतिनिधिहरूसँग मत माग्ने क्रम जारी छ।

तर, पार्टीभित्रको एक ठूलो समूह भने प्रत्यक्ष निर्वाचन प्रतिस्पर्धाबाट बाहिर देखिएको छ। पार्टी नेतृत्वसँग नजिक मानिने ‘बालेन समूह’का करिब डेढ दर्जन नेताहरूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छैनन्। उनीहरू सभापति रवि लामिछानेको तजबिजमा मनोनयनमार्फत केन्द्रीय समिति र पदाधिकारीमा पुग्ने रणनीतिमा रहेको दाबी गरिएको छ।

सभापति रवी लामिछाने महाधिवेशनको प्रारम्भमै सर्वसम्मत रूपमा निर्वाचित भइसकेका छन्। बाँकी ९९ केन्द्रीय सदस्यका लागि मतदान प्रक्रिया अघि बढिरहेको छ। तर, सोही क्रममा प्रधानमन्त्री बालेन्द्र शाह महाधिवेशन सम्पन्न हुनु अघि नै काठमाडौं फर्किएको पनि उल्लेख छ।

आन्तरिक सहमतिअनुसार बालेन समूहका केही नेताहरू वरिष्ठ पदमा मनोनीत हुने तयारीमा रहेको दाबी गरिएको छ। सो समूहका केही सदस्यहरू यसअघि नै केन्द्रीय समितिमा मनोनीत भइसकेका छन् भने केहीले मात्र यसपटक प्रत्यक्ष चुनावमा उम्मेदवारी दिएका छन्।

यस समूहबाट आएका केही नेताहरूले उपसभापति र महामन्त्री पदमा समेत दाबी प्रस्तुत गरेका छन्। पार्टी विधानअनुसार पदाधिकारी बन्न केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था भए पनि सभापतिले मनोनयनमार्फत पनि पदाधिकारी बनाउन सक्ने प्रावधान छ, जसको प्रयोग हुन सक्ने संकेत देखिएको छ।

महाधिवेशनमा पदाधिकारी संरचना १२ बाट बढाएर १९ पुर्‍याइएको छ। ९९ निर्वाचित केन्द्रीय सदस्यबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्री चयन हुनेछन् भने बाँकी पदहरू मनोनयनबाट भरिने व्यवस्था गरिएको छ। उपसभापति, महामन्त्री र अन्य पदाधिकारीका लागि पार्टीभित्र विभिन्न नामहरू चर्चामा छन्। यसले महाधिवेशनलाई प्रतिस्पर्धा र आन्तरिक शक्ति सन्तुलनको निर्णायक चरणमा पुर्‍याएको देखिन्छ।