रास्वपा महाधिवेशनमा मतदान ढिलाइ, निर्वाचन सूची नआउँदा प्रक्रिया प्रभावित
Prime TV News ३ हप्ता अगाडि 
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको जारी महाधिवेशनमा मतदानका लागि आवश्यक उम्मेदवारको सूची निर्वाचन आयोगले उपलब्ध नगराउँदा मतदान प्रक्रिया ढिलाइ हुने देखिएको छ।
निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदान बिहान ९ बजेदेखि सुरु गर्ने तयारी भए पनि हालसम्म प्रारम्भिक नामावलीसमेत सार्वजनिक हुन सकेको छैन। आयोगले बिहान साढे १० बजे प्रारम्भिक सूची निकाल्ने जानकारी दिएको थियो।
विद्युतीय मतदानका लागि अन्तिम नामावली तयार भएपछि उम्मेदवारको फोटोसहितको विवरण ई–भोटिङ मेसिनमा अपलोड गर्नुपर्ने हुन्छ। तर सूची ढिलाइ हुँदा यो प्रक्रिया नै प्रभावित भएको छ। आयोगका अनुसार करिब ४ सय उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।
यद्यपि आधिकारिक संख्या अझै सार्वजनिक गरिएको छैन। राम लक्ष्मण ई–भोटिङ मेसिनका संस्थापक राम रिमालका अनुसार सूची प्राप्त भएपछि मेसिनमा डाटा अपलोड गर्न ४ देखि ५ घण्टा लाग्नेछ। रिमालका अनुसार मतदान प्रक्रियामा एक मतदाताले करिब १५ देखि १८ मिनेट समय लगाउने अनुमान गरिएको छ। यसले मतदान प्रक्रिया थप लामो हुने देखिएको छ।
महाधिवेशन मङ्गलबारसम्म सम्पन्न गर्ने तालिका रहे पनि एक दिनअघि नै अवधि थपिएको थियो। पहिलो चरणमा ९९ केन्द्रीय सदस्य चयन भएपछि मात्र दोस्रो चरणमा पदाधिकारीका लागि मतदान हुने कार्यतालिका छ।







