काठमाडौ महानगरमा सहकारी बचत फिर्ता प्रक्रिया तीव्र, ६ हजार बचतकर्ताको निवेदन दर्ता
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा समस्याग्रस्त सहकारी संस्थाबाट बचत रकम फिर्ता गराइदिन माग गर्दै करिब ६ हजार बचतकर्ताले निवेदन दिएका छन्। उनीहरूले कुल करिब ५ अर्ब २७ करोड रुपैयाँ बचत फिर्ताको माग गरेका छन्।
महानगरका सहकारी विभाग प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार गत वैशाख १७ गतेदेखि निवेदन दर्ता प्रक्रिया सुरु गरिएको हो। त्यसयता दैनिक करिब ३० जना सेवाग्राही उजुरी तथा निवेदन लिएर आउने गरेका छन्। अधिकांश निवेदक साना बचतकर्ता रहेको र उनीहरूको बचत रकम १ लाखदेखि ५ लाख रुपैयाँसम्म रहेको विभागले जनाएको छ।
महानगरपालिकाले उजुरीका आधारमा समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाएको छ। हालै मात्र बुद्ध दर्शन सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमार्फत ३४ जना बचतकर्ताको रकम फिर्ता गरिएको महानगरले जनाएको छ। सो संस्थामार्फत १ लाख ५० हजार रुपैयाँसम्म बचत गर्ने सदस्यहरूको रकम फिर्ता गरिएको हो।
महानगरले आगामी एक महिनाभित्र ५ लाख रुपैयाँसम्म बचत गरेका बचतकर्ताको रकम फिर्ता गर्ने योजना बनाएको छ। ठूलो रकम भएका बचतकर्ताको हकमा भने ऋण असुली प्रक्रिया अघि बढाएर बचत फिर्ताको व्यवस्था मिलाउने तयारी भइरहेको विभागले जनाएको छ।
सहकारी विभागले उजुरी दर्ता गर्नुका साथै सञ्चालक र बचतकर्ताबीच छलफल तथा मिलापत्र गराउने कार्य पनि गर्दै आएको छ। सहमति हुन नसकेका अवस्थामा आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गरिने बताइएको छ।
यसैबीच, काठमाडौँ महानगरमा हाल १,९१२ सहकारी संस्था दर्ता रहेका छन्। तीमध्ये करिब आधा मात्र नियमित रूपमा वार्षिक साधारणसभा प्रतिवेदन बुझाउने गरेको पाइएको छ। नियम पालना नगर्ने सहकारीमाथि कानुनी कारबाही अघि बढाइने महानगरले जनाएको छ।







