देशभर मनसुनी प्रभाव सक्रिय, केही क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना
Prime TV News ३ हप्ता अगाडि काठमाडौ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न प्रदेशमा मनसुनी वायु सक्रिय रहेको जनाएको छ। कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्रसहित गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी तराई क्षेत्रमा मनसुनी प्रभाव देखिएको महाशाखाले जनाएको हो।
महाशाखाका अनुसार अन्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेशमा सामान्यतया बदली देखिएको छ भने मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी प्रदेशका केही स्थान तथा बागमती प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो हिमाली तथा पहाडी क्षेत्र र कोशी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। मधेश प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशका तराई क्षेत्रमा केही स्थान र मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान छ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने संकेत देखिएको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र कोशी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। मधेश प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराईका धेरै स्थानमा भने मौसम मुख्यतया सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशका केही हिमाली तथा पहाडी क्षेत्रमा, साथै बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ।
महाशाखाले सम्भावित मेघगर्जन, चट्याङ, तातो लहर तथा तापक्रम वृद्धिबाट प्रभावित हुन सक्ने क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। साथै, नियमित रूपमा मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन पनि अनुरोध गरिएको छ।







