रोनाल्डोले इतिहास रच्दा पोर्चुगलले उज्बेकिस्तानलाई ५–० ले पराजित

User Image Prime TV News ३ हप्ता अगाडि
Image of रोनाल्डोले इतिहास रच्दा पोर्चुगलले उज्बेकिस्तानलाई ५–० ले पराजित

काठमाडौ । कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै इतिहास रच्दा पोर्चुगलले फिफा विश्वकप २०२६ मा उज्बेकिस्तानलाई ५–० ले पराजित गरेको छ। समूह चरणको दोस्रो खेलमा आएको यो जितसँगै पोर्चुगलले अघिल्लो खेलको निराशा बिर्साउँदै प्रतियोगितामा बलियो पुनरागमन गरेको छ।

पहिलो खेलमा डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोसँग १–१ को बराबरीमा रोकिएको पोर्चुगल दबाबमा थियो। तर, उज्बेकिस्तानविरुद्ध रोनाल्डोले पहिलो हाफमै दुई गोल गर्दै टोलीलाई सहज जितको आधार तयार गरिदिए।

४१ वर्षीय रोनाल्डोले यस खेलसँगै विश्व फुटबलमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन्। उनी विश्वकपका छ फरक संस्करणमा गोल गर्ने इतिहासकै पहिलो खेलाडी बनेका छन्। साथै, उनले विश्वकपमा पोर्चुगलका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन्। यसअघि उक्त कीर्तिमान महान् फुटबलर युसेबियोको नाममा रहेको थियो।

पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले रोनाल्डो र अर्जेन्टिनाका कप्तान लियोनल मेसीबीचको लामो प्रतिस्पर्धाले विश्व फुटबललाई नयाँ उचाइमा पुर्‍याएको बताए। उनका अनुसार यी दुई खेलाडीले एकअर्कालाई निरन्तर उत्कृष्ट बन्न प्रेरित गर्दै आधुनिक फुटबलको स्तर उकास्न महत्त्वपूर्ण योगदान दिएका छन्।

मार्टिनेजले रोनाल्डोलाई राष्ट्रिय टोलीका युवा खेलाडीहरूको आदर्श व्यक्तित्वका रूपमा चित्रण गर्दै मैदानभित्रको प्रदर्शन मात्र होइन, अनुशासन र व्यावसायिक व्यवहार पनि अनुकरणीय रहेको बताए। उनले आलोचनाका बीच पनि रोनाल्डोले कहिल्यै आत्मविश्वास नगुमाउने र निरन्तर मेहनत गरिरहने खेलाडी भएको उल्लेख गरे।

खेलपछि उज्बेकिस्तानका प्रशिक्षक तथा सन् २००६ विश्वकप विजेता कप्तान फाबियो कानाभारोले पनि रोनाल्डोको खुलेर प्रशंसा गरे। उनले रोनाल्डोजस्ता खेलाडीलाई सानो अवसर दिनु पनि घातक हुने भन्दै उनको गोल गर्ने क्षमता अझै असाधारण रहेको बताए।

यसैबीच, फिफा अध्यक्ष जियानी इन्फान्टिनोले रोनाल्डोको ऐतिहासिक उपलब्धिको प्रशंसा गर्दै बाँकी प्रतियोगिताका लागि शुभकामना व्यक्त गरेका छन्। उज्बेकिस्तानविरुद्धको उत्कृष्ट प्रदर्शनसँगै रोनाल्डोले आलोचकलाई जवाफ मात्र दिएका छैनन्, विश्व फुटबलमा आफ्नो प्रभाव अझै कायम रहेको सन्देश पनि दिएका छन्।