रास्वपाको महाधिवेशनमा उम्मेदवारका प्रस्तावक र समर्थक उम्मेदवार बन्न नपाउने

User Image Prime TV News ४ हप्ता अगाडि
Image of रास्वपाको महाधिवेशनमा उम्मेदवारका प्रस्तावक र समर्थक उम्मेदवार बन्न नपाउने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा उम्मेदवारका प्रस्तावक र समर्थक बसेका प्रतिनिधिहरू आफैं कुनै पनि पदमा उम्मेदवार बन्न नपाउने भएका छन्।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले सूचना जारी गर्दै उम्मेदवारका प्रस्तावक वा समर्थकको भूमिका निर्वाह गरेका व्यक्तिले पछि उम्मेदवारी दिन नपाउने स्पष्ट पारेको हो। आयोगका प्रमुख भुवन केसीद्वारा जारी सूचनाअनुसार यस्तो व्यवस्था उल्लंघन गर्दै मनोनयन दर्ता गरिए उम्मेदवारी स्वतः अमान्य हुनेछ।

निर्वाचन कार्यतालिकाअनुसार केन्द्रीय सभापति पदका उम्मेदवारले एक जना प्रस्तावक र ५१ जना समर्थक जुटाउनुपर्नेछ। त्यस्तै पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि एक जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको छ।

उम्मेदवारले प्रस्तावक र समर्थकहरूको नाम, सम्पर्क नम्बर तथा हस्ताक्षरसहितको विवरण मनोनयन फारमसँगै अनिवार्य रूपमा पेस गर्नुपर्ने आयोगले जनाएको छ। उम्मेदवारी शुल्कतर्फ सभापति पदका लागि ५१ हजार रुपैयाँ र पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि २१ हजार रुपैयाँ निर्धारण गरिएको छ।

आयोगले एक प्रस्तावकले एकभन्दा बढी उम्मेदवारको फारममा प्रस्तावकका रूपमा हस्ताक्षर गर्न नपाउने जनाएको छ। यद्यपि समर्थकले भने एकभन्दा बढी उम्मेदवारको उम्मेदवारी फारममा समर्थन जनाउन सक्ने व्यवस्था गरिएको छ।

यसैगरी, उम्मेदवारका प्रस्तावक वा समर्थकको नाम महाधिवेशन प्रतिनिधिको आधिकारिक सूचीमा अनिवार्य रूपमा समावेश भएको हुनुपर्ने उल्लेख गरिएको छ। रास्वपाले महाधिवेशनको तयारीलाई व्यवस्थित र पारदर्शी बनाउन यी व्यवस्थाहरू लागू गरिएको जनाएको छ।