अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्ध अस्थायी रूपमा खुकुलो बनायो, १२ अर्ब डलर कोष फुकुवा
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । स्विट्जरल्यान्डमा अमेरिका र इरानबीच सम्पन्न उच्चस्तरीय वार्तापछि अमेरिकाले इरानी तेल बिक्रीमा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हटाउने निर्णय गरेको छ। साथै, इरानसँग सम्बन्धित १२ अर्ब अमेरिकी डलर बराबरको रोक्का गरिएको कोष पनि फुकुवा गरिएको जनाइएको छ।
यो निर्णयलाई दुई देशबीच लामो समयदेखि जारी तनाव केही कम हुने संकेतका रूपमा हेरिएको छ। वार्तापछि अमेरिकी प्रशासनले इरानी ऊर्जा क्षेत्रका लागि सीमित अवधिको सहजीकरण नीति लागू गरेको जनाएको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार अमेरिकी अर्थ मन्त्रालयले इरानी तेल उत्पादन, आपूर्ति र बिक्रीका लागि ६० दिने अस्थायी अनुमति व्यवस्था लागू गरेको छ। यस व्यवस्थाअन्तर्गत इरानले आगामी ६० दिनसम्म अन्तर्राष्ट्रिय बजारमा तेल तथा पेट्रोलियमजन्य पदार्थ बिक्री गर्न सक्नेछ।
उक्त अवधिमा अमेरिकी कम्पनीहरूले पनि कानुनी अनुमति प्राप्त ढाँचाअन्तर्गत इरानी तेल खरिद गर्न सक्ने र भुक्तानी अमेरिकी डलरमा गर्न सकिने व्यवस्था गरिएको बताइएको छ। आवश्यक परे यो व्यवस्था थप समयका लागि नवीकरण गर्न सकिने संकेत पनि दिइएको छ।
वार्ताका क्रममा इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकलाई पुनः प्रवेश अनुमति दिने तथा स्ट्रेट अफ होर्मुजमार्फत जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको बताइएको छ।
पछिल्ला महिनामा क्षेत्रीय तनावका कारण प्रभावित बनेको स्ट्रेट अफ होर्मुज विश्वकै प्रमुख तेल ढुवानी मार्गमध्ये एक मानिन्छ। विश्वमा निर्यात हुने ठूलो परिमाणको कच्चा तेल यही समुद्री मार्गबाट ओसारपसार हुने भएकाले त्यहाँको स्थिरताले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।
यसैबीच, इरानी पक्षले अमेरिकासँग रोक्का गरिएको १२ अर्ब डलर बराबरको कोष फुकुवा गर्ने समझदारी बनेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फुकुवा गरिएको रकम अमेरिकी कृषि उत्पादन खरिदमा प्रयोग हुन सक्ने बताएका छन्। तर इरानको केन्द्रीय बैंकले उक्त रकमको प्रयोगबारे निर्णय तेहरान आफैँले गर्ने स्पष्ट पारेको छ।







