एमबाप्पेको दुई गोलमा फ्रान्स अन्तिम ३२ मा, इराक ३–० ले पराजित

User Image Prime TV News ४ हप्ता अगाडि
Image of एमबाप्पेको दुई गोलमा फ्रान्स अन्तिम ३२ मा, इराक ३–० ले पराजित

काठमाडौ । खराब मौसमका कारण साढे दुई घण्टासम्म अवरुद्ध भएको खेलमा फ्रान्सले इराकलाई ३–० गोल अन्तरले पराजित गर्दै फिफा विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

लगातार दोस्रो जित निकालेको फ्रान्सले समूह चरण पार गर्ने टोलीका रूपमा आफ्नो स्थान बलियो बनाएको हो। खेलमा फ्रान्सका स्टार फरवार्ड केलियन एमबाप्पे नायक बने। उनले दुई गोल गर्दै टोलीको जितमा महत्त्वपूर्ण योगदान दिए।

खेलको १४औँ मिनेटमै एमबाप्पेले उत्कृष्ट फिनिसिङमार्फत फ्रान्सलाई अग्रता दिलाएका थिए। यो उनको राष्ट्रिय टोलीका लागि १००औँ खेल पनि थियो, जसलाई उनले सम्झनलायक प्रदर्शनमार्फत विशेष बनाए।

पहिलो हाफ समाप्त भएलगत्तै मौसम प्रतिकूल बनेपछि खेल करिब दुई घण्टाका लागि रोकिएको थियो। मौसम सामान्य भएपछि दोस्रो हाफ सुरु गरिएको थियो।

खेल पुनः सुरु भएपछि इराकले रक्षात्मक रणनीति अपनाए पनि फ्रान्सको तीव्र आक्रमण रोक्न सकेन। खेलको ५४औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

त्यसपछि ६६औँ मिनेटमा ओसमान डेम्बेलेले अर्को गोल थप्दै फ्रान्सको जित सुनिश्चित गरे। डेम्बेलेका लागि यो कुनै पनि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा गरिएको पहिलो गोल बनेको छ।

यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई पराजित गरेको थियो भने इराक नर्वेसँग पराजित भएको थियो। लगातार दोस्रो हारसँगै इराक विश्वकपको समूह चरणबाट बाहिरिएको छ भने फ्रान्सले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ।