विष्णु पौडेल पक्राउप्रति एमालेको विरोध, ‘अपहरणको शैलीमा गिरफ्तार’ भएको दाबी

User Image Prime TV News ४ हप्ता अगाडि
Image of विष्णु पौडेल पक्राउप्रति एमालेको विरोध, ‘अपहरणको शैलीमा गिरफ्तार’ भएको दाबी

काठमाडौ । नेकपा (एमाले)ले पार्टीको सांगठनिक कार्यक्रमका क्रममा सुर्खेतमा रहेका उपाध्यक्ष विष्णु पौडेललाई सरकारले ‘अपहरणको शैलीमा’ पक्राउ गरेको भन्दै कडा विरोध जनाएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार जारी गरेको प्रेस वक्तव्यमा पौडेललाई गैरकानुनी ढंगले गिरफ्तार गरिएको दाबी गर्दै यस घटनालाई राजनीतिक प्रतिशोधसँग जोडेर टिप्पणी गरेका छन्।

एमालेले पौडेलको पक्राउलाई ‘अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा’ भनेको छ। अध्यक्ष ओलीले वक्तव्यमा यो कदम आफू र पार्टीविरुद्ध भइरहेका शृङ्खलाबद्ध राजनीतिक प्रहार र षडयन्त्रको निरन्तरता भएको आरोप लगाएका छन्।

वक्तव्यअनुसार पौडेल सुर्खेतमा पार्टीको कार्यक्रम सकेर पूर्वनिर्धारित कार्यतालिकाअनुसार भोलिपल्ट काठमाडौं फर्कने तयारीमा थिए। एमालेले उनीसँग सोधपुछ वा अनुसन्धानका अन्य कानुनी विकल्प हुँदाहुँदै पक्राउको बाटो रोजिएको भन्दै प्रश्न उठाएको छ।

पार्टीले सार्वजनिक पद सम्हालिसकेका र कानुनको सम्मान गर्दै आएका राजनीतिक व्यक्तित्वलाई राजनीतिक सन्देश दिन र सार्वजनिक प्रभाव पार्न पक्राउ गरिएको आरोप पनि लगाएको छ।

एमालेले वर्तमान सरकारमाथि लोकतान्त्रिक अभ्यास कमजोर बनाउने, सत्ताको दुरुपयोग गर्ने र विपक्षी नेतामाथि लक्षित गतिविधि बढाएको आरोप लगाएको छ। साथै, यस्ता गतिविधि तत्काल रोक्न सरकारलाई आग्रह गर्दै पार्टीले राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने जनाएको छ।

यसअघि सोमबार उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा सुर्खेतबाट नियन्त्रणमा लिइएको जानकारी सार्वजनिक भएको थियो। अनुसन्धान र कानुनी प्रक्रिया सम्बन्धित निकायमार्फत अघि बढ्ने जनाइएको छ।