बेलायती प्रधानमन्त्री किअर स्टार्मरले दिए राजीनामा
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। आफ्नै लेबर पार्टीभित्रबाट बढ्दो दबाब आएपछि उनले नेतृत्व छाड्ने निर्णय गरेका हुन्।
ऐतिहासिक चुनावी जितसहित सत्तामा पुगेको दुई वर्ष नपुग्दै स्टार्मरमाथि पार्टीभित्रै असन्तुष्टि बढ्दै गएको थियो। पार्टीका केही सांसद र नेताहरूले उनको नेतृत्वमा जनसमर्थन घट्दै गएको तथा आगामी निर्वाचनमा चुनौती बढ्न सक्ने भन्दै नेतृत्व परिवर्तनको माग गरिरहेका थिए।
पछिल्लो समय सरकारले गरेका केही निर्णय अलोकप्रिय बनेको आरोपसमेत स्टार्मरले खेप्दै आएका थिए। यद्यपि केही दिनअघिसम्म उनले कुनै पनि नेतृत्व प्रतिस्पर्धामा सहभागी हुने संकेत दिएका थिए। बेलायती सञ्चारमाध्यमका अनुसार मन्त्रिपरिषद्का केही वरिष्ठ सदस्यहरूले समेत स्टार्मरलाई व्यक्तिगत रूपमा भेटेर नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका थिए।
त्यसपछि उनले राजीनामा दिने निर्णय लिएका हुन्। स्टार्मरको राजीनामासँगै लेबर पार्टीभित्र नयाँ नेता चयन प्रक्रिया सुरु हुने भएको छ। नयाँ नेतृत्वका लागि विभिन्न नेताहरूको नाम चर्चामा आएको छ। पार्टीले नयाँ नेता चयन गरी सत्ता हस्तान्तरण प्रक्रिया पूरा नगरेसम्म भने स्टार्मर नै कार्यवाहक प्रधानमन्त्रीका रूपमा रहनेछन्।
उनको राजीनामालाई बेलायती राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। अब लेबर पार्टीले नयाँ नेतृत्वमार्फत सरकारलाई कसरी अघि बढाउँछ भन्ने विषयमा सबैको चासो केन्द्रित भएको छ।







