सुन धितोकर्ताहरूको वाणिज्य बैंकमा प्रदर्शन, क्षतिपूर्ति माग

User Image Prime TV News ४ हप्ता अगाडि
Image of सुन धितोकर्ताहरूको वाणिज्य बैंकमा प्रदर्शन, क्षतिपूर्ति माग

काठमाडौ । जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित शाखामा राखिएको सुन हराएको विषयमा क्षतिपूर्ति वा राहत नपाएको भन्दै सुन धितो राखेर कर्जा लिएका सेवाग्राहीहरूले बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका छन्।

राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट जेनजी आन्दोलनका क्रममा करिब १८ किलो सुन र सवा ५ करोड रुपैयाँ नगद लुटिएको घटनापछि प्रभावित सेवाग्राहीहरू आक्रोशित बनेका हुन्। प्रदर्शनकारीहरू सोमबार सिंहदरबार प्लाजास्थित बैंकको केन्द्रीय कार्यालय परिसरमा भेला भएर विरोध जनाएका थिए।

उनीहरूले बैंक व्यवस्थापनले अहिलेसम्म कुनै राहत वा क्षतिपूर्ति नदिएको आरोप लगाएका छन्। जेनजी आन्दोलनका क्रममा भएको लुटपाटपछि सुन हराएपछि ऋण तिर्ने वा धितो फिर्ता पाउने विषय अनिश्चित बनेको उनीहरूको गुनासो छ।

एक धितोकर्ता सरस्वती बस्नेतका अनुसार बैंकले सुन हराएको घटनामा जिम्मेवारी लिनुको साटो पन्छिन खोजेको छ। उनले धितो राखिएको सुन बराबरको सम्पूर्ण तौल फिर्ता गर्न वा उचित क्षतिपूर्ति दिन माग गरेकी छन्। प्रदर्शनकारीहरूले बैंकभित्र प्रवेश गर्ने प्रयास गर्दा प्रहरीले रोक लगाएको थियो। उनीहरूले “सरकारी बैंकमा विश्वास गर्नु नै अपराध हो?” भन्दै सरकार र बैंक व्यवस्थापनप्रति प्रश्न उठाएका छन्।

सेवाग्राहीहरूले समस्या समाधान नभएसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएका छन्।