दृष्टिविहीनहरूको माइतीघरमा प्रदर्शन, वैकल्पिक व्यवस्था माग
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । सडकपेटीमा आश्रित दृष्टिविहीनहरूलाई बलपूर्वक हटाइएको र नगर प्रहरीले धरपक्कड गरेको आरोप लगाउँदै उनीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।
सोमबार माइतीघर मण्डलामा भेला भएका दृष्टिविहीनहरूले राज्यले विकल्पबिनै सडकबाट समेत जीविकोपार्जन गर्न नदिएको भन्दै विरोध जनाएका हुन्। उनीहरूका अनुसार सडक, मठमन्दिर, चोक तथा पेटीमा धुप बेच्ने, गीत गाएर सहयोग उठाउने र अन्य साना स्वरोजगारका गतिविधि गर्दै आएका व्यक्तिहरूलाई नगर प्रहरीले हटाउने, होल्डिङ सेन्टरमा लगेर राख्ने र पछि छोड्ने जस्ता व्यवहार भइरहेको छ।
प्रदर्शनकारी समूहका संयोजक सुदीप ओलीले नगर प्रहरीबाट दमन भएको आरोप लगाउँदै विकल्पबिनै सडकबाट हटाइनु अन्याय भएको बताएका छन्। उनले नगर प्रहरीद्वारा हातपातसमेत भएको दाबी गर्दै विरोधमा उत्रिन बाध्य भएको बताएका छन्।
उनीहरूले आफूहरूलाई या त सडकमा गरिखाने वातावरण दिनुपर्ने या बेरोजगार भत्ता मासिक २० हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने माग राखेका छन्। साथै योग्यता र क्षमताअनुसार रोजगारीको व्यवस्था गर्न पनि उनीहरूको माग छ। प्रदर्शनकारीहरूले माग पूरा नभएसम्म दैनिक बिहान ९ बजेदेखि १२ बजेसम्म नियमित प्रदर्शन जारी राख्ने घोषणा गरेका छन्।
यसअघि काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थान व्यवस्थापन र अनधिकृत व्यापार नियन्त्रणका नाममा सडकपेटी खाली गराउने अभियान सञ्चालन गर्दै आएको छ।







