एफएटीएफको ‘ग्रे लिस्ट’मै नेपाल, सुधारका प्रयास अझै अपुग

User Image Prime TV News ४ हप्ता अगाडि
Image of एफएटीएफको ‘ग्रे लिस्ट’मै नेपाल, सुधारका प्रयास अझै अपुग

काठमाडौ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी रोकथामसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई आफ्नो उच्च निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’मै कायम राखेको छ।

फ्रान्सको पेरिसमा सम्पन्न एफएटीएफको पूर्ण बैठकपछि सार्वजनिक गरिएको पछिल्लो प्रतिवेदनमा नेपालले केही सुधारका प्रयास गरे पनि आवश्यक मापदण्ड पूर्ण रूपमा पूरा गर्न नसकेको उल्लेख गरिएको छ। यससँगै नेपाल अझै पनि उच्च निगरानीमा रहने मुलुकहरूको सूचीमा परेको छ।

एफएटीएफ विश्वभर सम्पत्ति शुद्धीकरण, आतंकवादी गतिविधिमा वित्तीय लगानी तथा अन्य अवैध वित्तीय कारोबार नियन्त्रणका लागि काम गर्ने अन्तरसरकारी निकाय हो। यसले जोखिमको आधारमा विभिन्न देशलाई ‘ग्रे लिस्ट’ र ‘ब्ल्याक लिस्ट’मा वर्गीकरण गर्दै आएको छ।

एफएटीएफले सदस्य तथा अन्य मुलुकहरूको मूल्यांकन प्रभावकारितासम्बन्धी ११ सूचक र प्राविधिक अनुपालनका ४० सूचकका आधारमा गर्ने गर्दछ। यी सूचकहरूले कानुन, नियमन, वित्तीय निगरानी तथा कार्यान्वयनको अवस्था मापन गर्छन्।

नेपाल यसअघि सन् २००८ मा पनि ग्रे लिस्टमा परेको थियो। त्यसपछि कानुनी तथा नीतिगत सुधार गरेपछि सन् २०१४ मा उक्त सूचीबाट बाहिरिएको थियो। सन् २०१२ मा भने नेपाल ब्ल्याक लिस्टमा पर्ने जोखिमको नजिक पुगेको थियो। त्यसबेला आईएमएफको सहयोग र सिफारिसअनुसार सुधारका कदम चालिएपछि नेपाल ब्ल्याक लिस्टबाट जोगिएको थियो।

एफएटीएफले अहिले पनि नेपाललाई सम्पत्ति शुद्धीकरण नियन्त्रण, वित्तीय प्रणालीको प्रभावकारी अनुगमन, कानुन कार्यान्वयन तथा उच्च जोखिमयुक्त क्षेत्रहरूको निगरानीमा थप सुधार गर्न सुझाव दिएको छ। यी क्षेत्रमा अपेक्षित प्रगति हासिल भएमा नेपाल भविष्यमा ग्रे लिस्टबाट बाहिरिन सक्ने सम्भावना रहनेछ।

ग्रे लिस्टमा रहँदा नेपालमाथि अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको निगरानी बढ्ने, विदेशी लगानी प्रभावित हुन सक्ने तथा अन्तर्राष्ट्रिय वित्तीय कारोबार थप जटिल बन्न सक्ने विश्लेषण गरिएको छ। त्यसैले सरकारले आवश्यक सुधारलाई तीव्रता दिनुपर्ने चुनौती थपिएको छ।