राप्रपाका पूर्वअध्यक्षद्वारा पार्टी एकताको आह्वान, महाधिवेशनमा केन्द्रित हुन आग्रह
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन पूर्वअध्यक्षले पार्टीभित्र एकता कायम गर्दै आगामी महाधिवेशनलाई सफल बनाउन आग्रह गरेका छन्।
उनीहरूले महाधिवेशनमार्फत स्पष्ट वैचारिक दिशा, सुदृढ संगठनात्मक दृष्टि र व्यवहारिक कार्ययोजना प्रस्तुत गरेर कार्यकर्तामा नयाँ विश्वास जगाउनुपर्ने बताएका छन्।
आइतबार पूर्वअध्यक्ष पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीले महाधिवेशन गर्ने निर्णयलाई स्वागतयोग्य कदम बताएका हुन्। उनीहरूले यसअघि पार्टीको केन्द्रीय समिति बैठक बहिष्कार गरेका थिए।
पार्टी महामन्त्री धवलशमशेर राणाले पार्टी छोडेपछि नेतृत्वसँग असन्तुष्टि बढेको पृष्ठभूमिमा उनीहरूले केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेका थिए। तर, बैठकबाट मंसिरमा महाधिवेशन गर्ने निर्णय भएपछि उनीहरूले कार्यकर्तालाई अब महाधिवेशन केन्द्रित हुन आग्रह गरेका छन्।
संयुक्त विज्ञप्तिमा पूर्वअध्यक्षहरूले वर्तमान नेतृत्वले पार्टी सञ्चालनमा कमजोरी देखाएको आरोप लगाएका छन्। उनीहरूले पूर्वाग्रह, प्रतिशोध वा व्यक्तिगत आग्रहका आधारमा कुनै पनि नेता–कार्यकर्तामाथि कारबाही गर्न नहुने बताएका छन्।
साथै, केन्द्रीय कार्यसमितिको बैठकमा कार्यसमिति बाहिरका व्यक्तिहरूलाई सहभागी गराउने अभ्यासलाई पनि गलत भएको दाबी गरिएको छ।
पूर्वअध्यक्षहरूले समयमै निष्पक्ष महाधिवेशन नहुने आशङ्काका कारण केही नेता–कार्यकर्ताले पार्टी छोडिसकेको र अन्यमा पनि निराशा बढिरहेको उल्लेख गरेका छन्। यही अवस्था समाधान गर्न पार्टी अध्यक्षको संयोजकत्वमा पूर्वअध्यक्षहरू समेत सहभागी हुने उच्चस्तरीय ‘मार्गदर्शन समिति’ गठन गर्न सुझाव दिएका छन्।
उनीहरूले पार्टी निर्माणका लागि लामो समय योगदान दिएका नेतृत्वप्रति आरोप र लाञ्छना लगाउने प्रवृत्ति अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण बनाउन आवश्यक रहेको पनि बताएका छन्।







