यामाल र ओयार्साबाल चम्किँदा स्पेनको शानदार पुनरागमन, साउदी अरेबियामाथि ४–० को जित

User Image Prime TV News ४ हप्ता अगाडि
Image of यामाल र ओयार्साबाल चम्किँदा स्पेनको शानदार पुनरागमन, साउदी अरेबियामाथि ४–० को जित

काठमाडौ । युवा स्टार लामिने यामाल र मिकेल ओयार्साबालको उत्कृष्ट प्रदर्शनमा स्पेनले विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा साउदी अरेबियामाथि ४–० को प्रभावशाली जित निकालेको छ।

पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको स्पेनले यो जितसँगै प्रतियोगितामा आफ्नो लय समातेको छ। आइतबार राति भएको खेलमा स्पेनले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो।

खेलको १०औँ मिनेटमा ओयार्साबालको पासलाई सदुपयोग गर्दै लामिने यामालले गोल गरेपछि स्पेनले अग्रता लिएको थियो। यो यामालको विश्वकप करियरको पहिलो गोल पनि बनेको छ।

पहिलो खेलमा केप भर्डेविरुद्ध गोल गर्न नसकेका ओयार्साबाल यस खेलमा उत्कृष्ट लयमा देखिए। उनले पहिलो हाफमै लगातार दुई गोल गर्दै स्पेनलाई हाफ–टाइमअघि नै ३–० को बलियो अवस्थामा पुर्‍याए।

दोस्रो गोल ड्यानी ओल्मो र एम्रिक लापोर्टको समन्वयमा आएको अवसरलाई सदुपयोग गर्दै सम्भव भयो भने केही मिनेटपछि पेड्रो पोरो र मार्क कुकुरेलाको पासमा उनले व्यक्तिगत दोस्रो गोल थपे।

दोस्रो हाफमा स्पेनले खेलमा नियन्त्रण कायम राख्दै केही मुख्य खेलाडीलाई आराम दिएको थियो। खेलको ४८औँ मिनेटमा साउदी अरेबियाका डिफेन्डर हसन अल–ताम्बाक्तीबाट भएको आत्मघाती गोलपछि स्पेन ४–० ले अगाडि बढ्यो र अन्तिमसम्म यही नतिजा कायम रह्यो।

मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले आफ्नो ६५औँ जन्मदिन मनाइरहेका बेला टोलीले उनलाई सानदार जितको उपहार दिएको छ। चोटपछि मैदान फर्किएका यामालले खेलभर साउदीको रक्षापङ्क्तिलाई दबाबमा राखेका थिए।

यो जितसँगै समूह ‘एच’ मा स्पेनले दुई खेलबाट ४ अंक जोडेको छ। साउदी अरेबियाको भने समान खेलबाट १ अंक रहेको छ। अन्तिम समूह खेलले दुवै टोलीको नकआउट चरण यात्रा तय गर्नेछ।