रास्वपाको महाधिवेशन दोस्रो दिन : विधान संशोधन र निर्वाचन प्रक्रियामा केन्द्रित

User Image Prime TV News ४ हप्ता अगाडि
Image of रास्वपाको महाधिवेशन दोस्रो दिन : विधान संशोधन र निर्वाचन प्रक्रियामा केन्द्रित

काठमाडौ । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज दोस्रो दिन बन्द सत्र सञ्चालन हुँदैछ। आइतबारदेखि सुरु भएको महाधिवेशन असार ९ गतेसम्म चल्ने कार्यक्रम रहेको छ।

आजको बन्द सत्र पार्टी महामन्त्रीको सञ्चालनमा हुनेछ। सत्रमा विधान संशोधन, विभिन्न प्रतिवेदनमाथि छलफल तथा आगामी नेतृत्व चयन प्रक्रियाका लागि आवश्यक निर्णयहरू गरिने कार्यक्रम तय गरिएको छ।

कार्यतालिकाअनुसार बिहान पार्टी सभापति रवि लामिछानेले दोस्रो सत्रको औपचारिक सुरुआत गर्नेछन्। त्यसपछि अनुशासन आयोगको प्रतिवेदन, वित्तीय प्रतिवेदन र संगठनात्मक प्रतिवेदन क्रमशः प्रस्तुत गरी छलफल गरिनेछ।

महाधिवेशनको मुख्य आकर्षणका रूपमा रहेको विधान संशोधन प्रस्ताव सहमहामन्त्री विपिन कुमार आचार्यले प्रस्तुत गर्नेछन्। प्रस्तावमाथि छलफलपछि अनुमोदन प्रक्रिया अघि बढाइनेछ।

त्यसपछि उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको अर्थ–राजनीतिक प्रस्तावना प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। लगत्तै सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्।

कार्यतालिकाअनुसार राजनीतिक प्रतिवेदनपछि अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गरिनेछ र महाधिवेशन आयोजक समितिबाट निर्वाचन आयोगलाई सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गरिनेछ।

दिउँसोको भोजनपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी तालिका तथा आवश्यक सूचना सार्वजनिक गर्नेछ। त्यसपछि महाधिवेशनका बाँकी कार्यक्रम निर्वाचन आयोगको निर्देशनअनुसार सञ्चालन हुने रास्वपाले जनाएको छ।