काठमाडौंमा सोमबारको सार्वजनिक बिदा खारेज, सरकारी सेवा नियमित

User Image Prime TV News एक महिना अगाडि
Image of काठमाडौंमा सोमबारको सार्वजनिक बिदा खारेज, सरकारी सेवा नियमित

काठमाडौ । लगातारको वर्षाका कारण दिइएको सार्वजनिक बिदा काठमाडौं जिल्लामा खारेज गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार राति सूचना जारी गर्दै सोमबार बिहान १० बजेदेखि सबै सरकारी कार्यालय, निकाय र स्थानीय तहहरूमा सेवा पुनः सुरु हुने जानकारी दिएको हो।

यसअघि गृह मन्त्रालयले असोज १९ गते सूचना जारी गर्दै वर्षाका कारण संभावित जोखिमलाई मध्यनजर गर्दै आइतबार र सोमबार दुई दिन देशभरका कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर आइतबार साँझ मन्त्रालयले विपद् जोखिम तथा प्रतिकार्य कार्यमा प्रत्यक्ष संलग्न नभएका जिल्लाहरूमा सेवा नियमित गर्न निर्देशन दिएपछि काठमाडौं लगायत केही जिल्लामा बिदा खारेज गरिएको हो।

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई जानकारी दिँदै भनेको छ, "२०७९ सालको विदा व्यवस्थापन कार्यतालिका अनुसार मात्रै बिदा लागु हुनेछ। असोज २० गते सोमबारका लागि यसअघि दिइएको सार्वजनिक बिदा अब लागू हुने छैन।"

सरकारी सेवाहरू नियमित रुपमा सञ्चालन हुने भएकाले काठमाडौं जिल्लाका सेवाग्राहीहरूलाई कार्यालय जान वा सेवा लिन अब कुनै कानुनी रोकावट नरहेको प्रशासनले स्पष्ट पारेको छ।