रास्वपाको महाधिवेशनमा श्रम संस्कृति पार्टी सहभागी नहुने

User Image Prime TV News एक महिना अगाडि
Image of रास्वपाको महाधिवेशनमा श्रम संस्कृति पार्टी सहभागी नहुने

काठमाडौ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृती पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा प्रतिनिधि नपठाउने भएको छ । 

रास्वपाले आफ्नो महाधिवेशनमा सहभागी भई शुभकामना दिन संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दललाई निमन्त्रणा गरेको थियो। सोही क्रममा श्रम संस्कृति पार्टीलाई पनि निम्ता पठाइएको थियो। तर पार्टीले महाधिवेशनमा सहभागिता नजनाउने निर्णय गरेको जनाएको छ।

यसअघि हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत आफू रास्वपाको महाधिवेशनमा सहभागी नहुने संकेत गरेका थिए। त्यसपछि पार्टीले पनि औपचारिक रूपमा कुनै प्रतिनिधि नपठाउने निर्णय गरेको स्रोतले जनाएको छ।

उता रास्वपाको महाधिवेशनमा अन्य राजनीतिक दलका नेताहरू भने सहभागी हुने भएका छन्। कांग्रेस सभापति गगन थापा महाधिवेशनमा स्वयं उपस्थित हुने कार्यक्रम रहेको छ। त्यसैगरी एमालेबाट प्रदीप ज्ञावली तथा नेकपाबाट बर्षमान पुन सहभागी हुने तय भएको बताइएको छ।

रास्वपाको महाधिवेशनमा प्रमुख राजनीतिक दलका नेताहरूको उपस्थिति रहने तयारी भइरहेका बेला श्रम संस्कृति पार्टीको अनुपस्थितिलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। पार्टीले सहभागिता नजनाउनुको कारणबारे भने विस्तृत प्रतिक्रिया सार्वजनिक गरेको छैन।