सुनको भाउमा सामान्य सुधार, चाँदी पनि महँगियो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । गत शुक्रबार उल्लेख्य रूपमा घटेको सुनको मूल्य आज केही बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले वृद्धि भई २ लाख ८७ हजार ३ सय रुपैयाँ पुगेको छ।
यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १० हजार ५ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ७ सय रुपैयाँमा झरेको थियो। त्यसअघि बिहीबार सुन प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्यमा पनि आज वृद्धि देखिएको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ६ सय ९० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ३०५ रुपैयाँले घटेर ४ हजार ६ सय ४० रुपैयाँमा झरेको थियो।
नेपाली बजारमा सुन र चाँदी दुवैले यस वर्ष ऐतिहासिक उतारचढाव अनुभव गरेका छन्। गएको माघ १५ गते सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।
त्यसै दिन चाँदीको मूल्य पनि प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो, जुन नेपाली बजारमा अहिलेसम्मकै उच्च स्तर मानिन्छ। यता, गएको माघ १८ गते चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो। मूल्यमा आएको उक्त गिरावट चाँदीको इतिहासकै सबैभन्दा ठूलो एकदिने गिरावटका रूपमा दर्ज भएको छ।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा हुने उतारचढाव, अमेरिकी डलरको अवस्था तथा विश्व आर्थिक गतिविधिको प्रभाव नेपाली बजारमा पनि प्रत्यक्ष रूपमा पर्ने गरेको व्यवसायीहरू बताउँछन्।







