नेदरल्यान्ड्सको शानदार जित, स्विडेनलाई ५–१ ले हराउँदै नकआउट चरण नजिक
Prime TV News एक महिना अगाडि 
काठमाडौ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा नेदरल्यान्ड्सले स्विडेनमाथि ५–१ को प्रभावशाली जित दर्ता गरेको छ। ह्युस्टन रंगशालामा भएको खेलमा उत्कृष्ट प्रदर्शन गरेको डच टोली नकआउट चरण नजिक पुगेको हो।
नेदरल्यान्ड्सको जितमा कोडी गाक्पो र ब्रायन ब्रोबी नायक बने। दुवैले दुई–दुई गोल गरे। खेलको पाँचौँ र १७ औँ मिनेटमा ब्रोबीले लगातार गोल गर्दै टोलीलाई बलियो सुरुआत दिलाए।
त्यसपछि दोस्रो हाफको सुरुवातमै गाक्पोले थप दुई गोल गर्दै नेदरल्यान्ड्सको अग्रता फराकिलो बनाए। गाक्पोले पहिलो गोलका लागि ब्रोबीलाई पाससमेत दिएका थिए।
स्विडेनका लागि खेलको करिब एक घण्टा पुग्दा एन्थोनी एलाङ्गाले एक गोल फर्काए पनि त्यसले खेलको नतिजा बदल्न सकेन। खेलको अन्त्यतिर क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्यान्ड्सको ५–१ को जित पक्का गरे।
पराजित भए पनि स्विडेनले खेलभर केही राम्रो अवसर सिर्जना गरेको थियो। तर प्रभावकारी रूपमा गोल गर्न नसक्दा टोली पछि परेको हो। टोलीका मुख्य आक्रमणकर्ता अलेक्ज्याण्डर इसाक र भिक्टर ग्योकेरेसले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन्।
पहिलो खेलमा जापानसँग बराबरी खेलेको नेदरल्यान्ड्सले यो जितसँगै दुई खेलबाट ४ अंक जोड्दै समूह ‘एफ’ को शीर्षस्थान कब्जा गरेको छ। स्विडेन ३ अंकसहित दोस्रो स्थानमा छ भने जापानको १ र ट्युनिसियाको कुनै अंक छैन।







