विप्लव नेतृत्वको कार्यशैलीमाथि असन्तुष्टि, १० केन्द्रीय सदस्यसहित १२ जनाको सामूहिक राजीनामा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा माओवादीसँग आबद्ध समूहका १० केन्द्रीय सदस्यसहित १२ जनाले सामूहिक रूपमा राजीनामा दिएका छन्। पार्टी महासचिव नेत्र विक्रम चन्दको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले पद त्याग गरेका हुन्।
राजीनामा दिने नेताहरूले पार्टी नेतृत्व कम्युनिस्ट आन्दोलनको रूपान्तरण, एकता र पुनर्गठनको दिशाबाट पछि हटेको आरोप लगाएका छन्। उनीहरूको भनाइमा पार्टीभित्र वैचारिक बहस र आन्तरिक लोकतन्त्रलाई पर्याप्त स्थान नदिइएको छ।
राजीनामा पत्रमार्फत उनीहरूले पार्टीभित्र फरक धारणा राख्ने र बहसको माग गर्ने नेताहरूलाई निष्कासन गर्ने प्रवृत्तिप्रति पनि आपत्ति जनाएका छन्।
यसक्रममा केन्द्रीय सचिवालय सदस्य उमा भुजेल र चन्द्र बहादुर खड्कालाई पार्टीबाट निष्कासन गरिएको निर्णयलाई भर्त्सनायोग्य भन्दै पुनर्विचार गर्न माग गरिएको छ।
यो घटनालाई पार्टीभित्रको आन्तरिक असन्तुष्टि र संगठनात्मक बहसको नयाँ संकेतका रूपमा हेरिएको छ।








