रातो मच्छिन्द्रनाथको भोटो देखाउने आज, राष्ट्रपति पौडेल जावलाखेल पुग्ने

User Image Prime TV News एक महिना अगाडि
Image of रातो मच्छिन्द्रनाथको भोटो देखाउने आज, राष्ट्रपति पौडेल जावलाखेल पुग्ने

काठमाडौ । आज ऐतिहासिक रातो मच्छिन्द्रनाथ जात्राको सबैभन्दा महत्त्वपूर्ण चरण मानिने भोटो देखाउने कार्यक्रम आयोजना हुँदै छ।

परम्परा अनुसार राष्ट्रप्रमुखको उपस्थितिमा हुने यो कार्यक्रम बेलुकी साढे ५ बजे जावलाखेल चोकमा सम्पन्न हुने तयारी गरिएको छ। जानकारीअनुसार राष्ट्रपति रामचन्द्र पौडेल कार्यक्रम अवलोकन गर्न उपस्थित हुने तय भएको छ।

नेपालमा लामो समयदेखि चलिआएको परम्परा अनुसार रातो मच्छिन्द्रनाथको भोटो राष्ट्रप्रमुखलाई देखाउने चलन रहँदै आएको छ। जात्रा व्यवस्थापन समितिका विकासमान श्रेष्ठले प्रधानमन्त्री बालेन्द्र  शाह र संघीय सरकारका मन्त्रीहरूलाई पनि निमन्त्रणा गरिएको जानकारी दिएका छन्।

तर प्रधानमन्त्रीको सचिवालयबाट सहभागी हुने वा नहुने विषयमा अन्तिम निर्णय सार्वजनिक भइसकेको छैन। परम्परागत रूपमा राष्ट्रप्रमुख सहभागी हुने यस्ता सांस्कृतिक तथा धार्मिक महत्वका कार्यक्रममा सरकार प्रमुखको उपस्थिति पनि महत्त्वपूर्ण मानिन्छ।

रातो मच्छिन्द्रनाथ जात्रा नेपालकै सबैभन्दा पुराना र प्रसिद्ध सांस्कृतिक पर्वमध्ये एक हो। विशेषगरी वर्षा, समृद्धि र सामुदायिक एकताको प्रतीकका रूपमा यो जात्रा मनाइन्छ।