प्रि–मनसुनमा ४५ वर्षयताकै उच्च वर्षा, झापामा २४ घण्टामै २०८ मिमि पानी

User Image Prime TV News एक महिना अगाडि
Image of प्रि–मनसुनमा ४५ वर्षयताकै उच्च वर्षा, झापामा २४ घण्टामै २०८ मिमि पानी

काठमाडौ । नेपालमा यस वर्षको प्रि–मनसुन याममा विगत ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार देशभर औसतभन्दा उल्लेख्य बढी वर्षा मापन भएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार प्रि–मनसुन अवधिमा नेपालमा सामान्यतया २२६ दशमलव ३ मिलिमिटर वर्षा हुने गर्छ। तर यस वर्ष ३३९ दशमलव ७ मिलिमिटर वर्षा रेकर्ड भएको छ, जुन औसतको १४५ दशमलव ५ प्रतिशत हो।

विभागले सन् १९८१ देखि देशभर रहेका १२६ वटा वर्षा मापन केन्द्रको तथ्यांकका आधारमा प्रि–मनसुन वर्षाको विश्लेषण गर्दै आएको छ। सोही अभिलेखअनुसार यस वर्षको वर्षा पछिल्ला ४५ वर्षकै उच्च रहेको विभागले जनाएको छ। यसैबीच, पछिल्लो २४ घण्टामा झापाको अनारमनी–बिर्ता क्षेत्रमा सबैभन्दा बढी २०८ मिलिमिटर वर्षा मापन गरिएको छ। विभागका अनुसार २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा त्यसलाई ‘अति भारी वर्षा’ मानिन्छ।

झापा क्षेत्रमा केही दिनयता लगातार वर्षा भइरहेको छ भने सोही क्षेत्रबाट मनसुन नेपाल भित्रिने सम्भावना रहेको विभागले जनाएको छ। यद्यपि हालसम्म वर्षाका कारण ठूलो क्षति भएको जानकारी प्राप्त नभएको स्थानीय प्रशासनले जनाएको छ।

पूर्वी नेपालका इलाम, मोरङ, सुनसरी र सिन्धुलीका केही वर्षा मापन केन्द्रहरूमा पनि भारी वर्षा रेकर्ड गरिएको छ। त्यस्तै पश्चिमतर्फ कास्की, लमजुङ र गोरखाका विभिन्न स्थानमा समेत उल्लेखनीय वर्षा भएको विभागले जनाएको छ।

वर्षा सीमित क्षेत्रमा केन्द्रित भइरहेकाले केही स्थानमा अत्यधिक वर्षा र अन्यत्र तुलनात्मक रूपमा कम वर्षा हुने अवस्था देखिएको मौसमविद्हरूले बताएका छन्। मनसुन नजिकिँदै जाँदा बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।