सुन–चाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा १० हजार ५०० रुपैयाँले सस्तियो

User Image Prime TV News एक महिना अगाडि
Image of सुन–चाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा १० हजार ५०० रुपैयाँले सस्तियो

काठमाडौ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा शुक्रबार व्यापक गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकै दिन तोलामा १० हजार ५०० रुपैयाँले घटेर २ लाख ८६ हजार ७०० रुपैयाँमा कायम भएको छ।

यसअघि बिहीबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर २ लाख ९७ हजार २०० रुपैयाँ पुगेको थियो। बुधबार पनि सुनको मूल्य १ हजार २०० रुपैयाँले घटेको थियो। लगातार तेस्रो दिन मूल्य घटेसँगै पछिल्ला दिनमा सुन बजारमा दबाब देखिएको छ।

केही दिनअघि मात्रै सुनको मूल्य उकालो लागेको थियो। लगातार तीन दिनको अवधिमा सुनको भाउ कुल ६ हजार ५०० रुपैयाँले बढेको थियो। तर त्यसपछिका तीन कारोबार दिनमा भने मूल्य निरन्तर घट्दै आएको छ।

चाँदीको मूल्य पनि शुक्रबार उल्लेखनीय रूपमा घटेको छ। महासंघका अनुसार चाँदीको भाउ तोलामा ३०५ रुपैयाँले घटेर ४ हजार ६४० रुपैयाँमा झरेको छ। नेपाली बजारमा सुन र चाँदी दुवैले केही समयअघि ऐतिहासिक कीर्तिमान कायम गरेका थिए। गत माघ १५ गते सुनको मूल्य तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेर अहिलेसम्मकै उच्च स्तरमा पुगेको थियो। सो दिन सुनको भाउ एकै दिन २० हजार ५०० रुपैयाँले बढेको थियो।

त्यस्तै चाँदीको मूल्य पनि माघ १५ गते तोलाको ७ हजार ५०५ रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो। त्यसको तीन दिनपछि माघ १८ गते चाँदीको मूल्य एकै दिन १ हजार ५६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै सबैभन्दा ठूलो दैनिक गिरावट मानिन्छ।

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्यमा आएको उतारचढाव, अमेरिकी डलरको विनिमय दर तथा लगानीकर्ताको व्यवहारले नेपाली बजारमा पनि प्रत्यक्ष प्रभाव पार्ने गरेको छ। पछिल्लो गिरावटले सुनचाँदी खरिद गर्ने उपभोक्तालाई केही राहत मिलेको भए पनि बजारको आगामी दिशा अन्तर्राष्ट्रिय प्रवृत्तिमै निर्भर रहने देखिएको छ।