राहदानी छपाइ प्रकरण: अख्तियारको म्यादपछि आरजु राणा देउवाले पठाइन् इमेल
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राहदानी छपाइसम्बन्धी कथित अनियमितता प्रकरणमा बयानका लागि उपस्थित हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्याद जारी गरेपछि नेपाली कांग्रेस नेतृ तथा पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवाले आयोगलाई इमेलमार्फत आफ्नो धारणा पठाएकी छन्।
अख्तियार स्रोतका अनुसार देउवाले आफू विदेशमा रहेको र तीन दिनभित्र उपस्थित हुन नसक्ने जानकारी आयोगलाई इमेलमार्फत गराएकी हुन्। आयोगका एक उच्च अधिकारीले इमेल प्राप्त भएको पुष्टि गरेका छन्। यद्यपि उनले आफू हाल कुन देशमा रहेको भन्ने विवरण इमेलमा उल्लेख नगरेको बताइएको छ।
अख्तियारले असार २ गते देउवाको निवासमा म्याद टाँस गर्दै तीन दिनभित्र टंगालस्थित आयोगको मुख्यालयमा उपस्थित हुन निर्देशन दिएको थियो। म्यादपत्रमा उपस्थित नभए कानुनअनुसार प्रक्रिया अघि बढाइने उल्लेख गरिएको थियो।
स्रोतहरूका अनुसार देउवा हाल हङकङमा रहेको बताइएको छ, तर यसको आधिकारिक पुष्टि भएको छैन। यसै प्रकरणमा आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी, जर्मन कम्पनीका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल तथा विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य सहित चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
अख्तियारको प्रारम्भिक अनुसन्धानमा राहदानी खरिद प्रक्रियामा करिब ८ अर्ब रुपैयाँ बराबरको अनियमितता भएको आशंका गरिएको बताइए पनि अनुसन्धान अझै जारी रहेको छ। आयोगले हालसम्म कसैविरुद्ध औपचारिक अभियोग दर्ता गरेको जानकारी सार्वजनिक गरेको छैन।







