संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउन सरकार सक्रिय, आयोग गठन प्रक्रिया अघि बढ्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सरकारले लामो समयदेखि अल्झिएको संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउने उद्देश्यसहित सम्बन्धित आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रतिनिधिसभामा आफ्नो मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले संक्रमणकालीन न्यायसम्बन्धी बाँकी कामलाई उच्च प्राथमिकतामा राखिएको बताइन्।
उनका अनुसार नेपाल शान्ति सम्झौता भएको २० वर्षको अवधिमा शान्ति प्रक्रियाअन्तर्गत भएका कामहरूको एकीकृत विवरण तयार गर्ने कार्य मन्त्रालयले अघि बढाइरहेको छ। उक्त विवरणका आधारमा यथार्थपरक ‘पोजिसन पेपर’ तयार गरी राजनीतिक दल तथा सरोकारवालासँग संवाद गर्दै बाँकी प्रक्रिया टुंग्याइने उनले जानकारी दिइन्।
मन्त्री गौतमले सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत संक्रमणकालीन न्याय प्रक्रियालाई प्राथमिकता दिइएको उल्लेख गरिन्। उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग का लागि चालु आर्थिक वर्षमा २१ करोड ९१ लाख १७ हजार रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिइन्।
पीडितहरूको परिपूरणका लागि सरकारले आवश्यक नियमावली निर्माण गरी छुट्टै कोष स्थापना गरिसकेको समेत उनले बताइन्। सरकारले आयोग गठन, पीडितको न्याय तथा शान्ति प्रक्रियाका बाँकी कार्यहरूलाई सहमतिका आधारमा निष्कर्षमा पुर्याउने तयारी गरिरहेको जनाएको छ।







