विश्वकपमा पोर्चुगल र डीआर कंगो बराबरी, रोनाल्डो गोलविहीन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अमेरिकामा जारी फिफा विश्वकप अन्तर्गत पोर्चुगल र डीआर कंगोबीचको खेल १–१ गोलको बराबरीमा टुंगिएको छ।
खेलको छैटौँ मिनेटमै पोर्चुगलले अग्रता लिएको थियो। पेड्रो नेटोको उत्कृष्ट पासमा जोआओ नेभ्सले हेडरमार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। तर पहिलो हाफको अन्त्यतिर डीआर कंगोले खेलमा पुनरागमन गर्यो।
आर्थर मोसाकाओको पासमा योआन विनेसाले हेडरमार्फत शानदार गोल गर्दै खेल बराबरीमा ल्याए। उक्त गोलसँगै डीआर कंगोले ५२ वर्षपछि विश्वकपमा गोल गर्ने ऐतिहासिक उपलब्धि पनि हासिल गर्यो। दोस्रो हाफमा पोर्चुगलले पुनः अग्रता लिने अवसर सिर्जना गरेको थियो।
खेलको ५५ औँ मिनेटमा जुआओ क्यान्सेलोको आकर्षक एक्रोब्याटिक प्रहारले जाली चुमे पनि अफसाइडका कारण गोल मान्यता पाउन सकेन। विश्वकपमा २३ औँ पटक सहभागी पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले खेलभर केही अवसर पाए पनि गोल गर्न सकेनन्। निर्धारित समयसम्म दुवै टोलीले थप गोल गर्न नसकेपछि खेल १–१ को बराबरीमा सकियो।
बराबरीसँगै पोर्चुगल र डीआर कंगोले समूह चरणमा एक–एक अंक बाँडेका छन्। डीआर कंगोका लागि भने विश्वकपमा ५२ वर्षपछि गोल गर्न सफल हुनु खेलको सबैभन्दा स्मरणीय उपलब्धि बनेको छ।







