सेयर बजार स्थिर, नेप्से २७०५ मा कायम

User Image Prime TV News एक महिना अगाडि
Image of सेयर बजार स्थिर, नेप्से २७०५ मा कायम

काठमाडौ । बुधबार सेयर बजारमा सामान्य उतारचढाव देखिए पनि नेप्से परिसूचक अघिल्लो दिनकै स्तरमा स्थिर रहेको छ। आज नेप्से जम्मा ०.०८ अंकले बढ्दै २७०५ मा कायम भएको हो।

यसअघि लगातार चार कारोबार दिन बजार घटेको थियो। मंगलबार ६ अंक, सोमबार १२ अंक, शुक्रबार ४ अंक र बिहीबार ८ अंकले नेप्से घटेको थियो। तर बुधबार कारोबारमा बजारको चाल निकै सुस्त देखियो।

आज कुल कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ४ अर्ब ४ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्ब ६१ करोड रुपैयाँमा सीमित रह्यो। कारोबारमा १२० कम्पनीको सेयर मूल्य बढ्दा १३५ कम्पनीको घट्यो भने १६ कम्पनी स्थिर रहे।

समूहगत सूचकहरूमा पनि ठूलो उतारचढाव देखिएन। बैंकिङ ०.१८ प्रतिशत, होटल तथा पर्यटन ०.६४ प्रतिशत, जीवन बीमा ०.०७ प्रतिशत, माइक्रोफाइनान्स ०.०४ प्रतिशत, निर्जीवन बीमा ०.५५ प्रतिशत, अन्य ०.०८ प्रतिशत र व्यापार समूह ०.६० प्रतिशतले घटे। उत्पादन तथा प्रशोधन ०.५१ प्रतिशत, लगानी ०.५३ प्रतिशत, हाइड्रोपावर ०.३० प्रतिशत र फाइनान्स ०.१४ प्रतिशतले घट्दा विकास बैंक समूह ०.४६ अंकले मात्र सकारात्मक रह्यो।

आज दुई कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। सोपान फर्मास्युटिकल्सको मूल्य प्रतिकित्ता ८०८.५० रुपैयाँ र एपोलो हाइड्रोपावरको मूल्य ६९२.७० रुपैयाँ पुगेको छ। त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर मूल्य ४.२४ प्रतिशतले बढ्दा दोल्ती पावर ३.३५ प्रतिशत र कालिन्चोक हाइड्रोपावर २.६१ प्रतिशतले घटेका छन्।

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स, सेन्ट्रल फाइनान्स, बुंगल हाइड्रो र आँखुखोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेका छन्। समग्रमा बजारमा ठूला उतारचढाव नदेखिए पनि कारोबार घट्नु र सूचक स्थिर रहनुले लगानीकर्तामा सावधानीपूर्ण मनोवृत्ति देखिएको विश्लेषण गरिएको छ।