मन्त्रीहरुको आचरणः सभामुख सभाकक्ष प्रवेश गर्दा अर्थमन्त्री वाग्ले र पूर्वाधार विकासमन्त्री लम्साल आफ्नै सिटमा बसे

User Image Prime TV News एक घण्टा अगाडि
Image of मन्त्रीहरुको आचरणः  सभामुख सभाकक्ष प्रवेश गर्दा अर्थमन्त्री वाग्ले र पूर्वाधार विकासमन्त्री लम्साल आफ्नै सिटमा बसे

काठमाडौ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख प्रवेशका क्रममा मन्त्रीहरूको आचरणलाई लिएर सांसदहरूले नियमापत्ति गरेका छन्। नौ वटा मन्त्रालयको बजेटमाथि छलफल चलिरहेको बैठकमा मन्त्रीहरूको उपस्थितिलाई लिएर पटक–पटक विवाद देखिएको हो।

बैठकको प्रारम्भिक चरणमै मन्त्रीहरूको अनुपस्थितिमा आपत्ति जनाउँदै सांसद गोपाल शर्माले नियमापत्ति गरेका थिए। उनले प्रतिनिधि सभा नियमावलीअनुसार मन्त्रालयगत छलफल हुँदा सम्बन्धित मन्त्री उपस्थित हुनुपर्ने व्यवस्था उल्लङ्घन भएको तर्क गरे।

त्यसपछि सभामुख डोलप्रसाद अर्याल ले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। स्थगनपछि बसेको दोस्रो बैठकमा सभामुख सभाकक्ष प्रवेश गर्दा सांसदहरू उठे पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल आफ्नै सिटमा बसेको भन्दै अर्को नियमापत्ति गरिएको थियो।

त्यसपछि रोस्ट्रममा पुगेका ऐनबहादुर महरले प्रतिनिधि सभा नियमावली २०८३ को नियम २० स्मरण गराउँदै सभामुख प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्ने व्यवस्था रहेको बताए। उनले मन्त्रीहरूको व्यवहारले संसद्को मर्यादामा प्रश्न उठेको टिप्पणी गरे।

सांसद महरले सभामुखलाई भिडियो रेकर्ड जाँच गरी आवश्यक रुलिङ गर्न पनि आग्रह गरे। उनले सरकार, सत्तापक्ष र प्रतिपक्ष सबैले संसदीय मर्यादा कायम गर्न जिम्मेवार हुनुपर्नेमा जोड दिए। सभामुख अर्यालले भने सांसदको धारणा ध्यानपूर्वक सुने पनि तत्काल कुनै प्रतिक्रिया दिएनन्। त्यसपछि रोस्ट्रममा रहेका श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङलाई बोल्ने समय दिइएको थियो।

बैठकमा मन्त्रीहरूको उपस्थितिदेखि संसदीय शिष्टाचारसम्मका विषयमा देखिएको असहमतिको कारण प्रतिनिधिसभा फेरि पनि केही समय विवादित बनेको छ।