कांग्रेस उपसभापति शर्माले ‘सात बुँदे प्रस्ताव’मा संस्थापनइतरको मागे स्पष्ट धारणा
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र जारी ‘सात बुँदे प्रस्ताव’प्रति संस्थापनइतर पक्षको स्पष्ट र औपचारिक धारणा आवश्यक रहेको बताएका छन्।
मंगलबार बिहान झापामा भएको भेटका क्रममा उनले पूर्व कार्यवाहक सभापति कृष्णप्रसाद सिटौला सँग सो विषय उठाएका हुन्। पारिवारिक शोकका कारण सिटौला समवेदना व्यक्त गर्न झापा पुगेका बेला करिब १०–१५ मिनेट दुई नेताबीच कुराकानी भएको कांग्रेस नेताहरूले बताएका छन्।
उक्त छलफलमा उपसभापति शर्माले १६ जेठमा पार्टीका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहितका नेताहरूमार्फत अघि सारिएको सात बुँदे प्रस्तावबारे संस्थापनइतरबाट औपचारिक जवाफ नआएको उल्लेख गरेका थिए।
शर्माले संस्थापनइतर पक्ष एक ठाउँमा बसेर साझा धारणा बनाउनुपर्ने आवश्यकता औंल्याउँदै त्यसको प्रतिनिधित्व गर्ने आधिकारिक व्यक्ति को हो भन्ने स्पष्ट हुनुपर्ने बताएका थिए। उनका अनुसार पार्टीभित्रको संवाद र सहमतिको प्रक्रियालाई अघि बढाउन संस्थागत स्पष्टता आवश्यक छ।
झापाका एक कांग्रेस नेताका अनुसार शर्माले सिटौलासँगको छलफलमा “सात बुँदे प्रस्ताव ठीक वा बेठीक भन्ने आधिकारिक धारणा कसले दिने हो?” भन्ने प्रश्न उठाएका थिए। उनले संस्थापनइतर पक्षको धारणा सार्वजनिक रूपमा स्पष्ट रूपमा आउनुपर्नेमा जोड दिएका थिए।
कांग्रेसभित्र देखिएको आन्तरिक छलफललाई सहमति र संवादमार्फत टुंग्याउने प्रयास भइरहेका बेला यो विषय पुनः चर्चामा आएको छ।







