विनियोजन विधेयक छलफलमा मन्त्री अनुपस्थित, संसदमा सांसदको असन्तुष्टि
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ माथिको मन्त्रालयगत छलफल जारी रहँदा मन्त्रीहरूको अनुपस्थितिलाई लिएर संसदमा असन्तुष्टि देखिएको छ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय लगायत विभिन्न निकायका बजेट शीर्षकहरूमाथि छलफल भइरहेको थियो।
छलफलका क्रममा मन्त्रीहरूको उपस्थिति न्यून भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो। तर स्थगनपछि बसेको दोस्रो बैठकमा पनि गृहमन्त्री सुधन गुरुङ र कानुनमन्त्री सोबिता गौतम अनुपस्थित रहेको सांसदहरूले बताएका छन्। त्यसपछि रोस्ट्रममा पुगेका राजेन्द्र राईले मन्त्रीहरूको अनुपस्थितिमा छलफल अघि बढाउन नसकिने भन्दै असन्तुष्टि जनाए।
उनले १५ मिनेटका लागि बैठक स्थगित गरिएको भए पनि मन्त्रीहरू उपस्थित नभएको भन्दै प्रश्न उठाए। सांसद राईले “थिति बसाल्नुपर्ने” भन्दै बारम्बार संसदलाई बेवास्ता गरिएको जस्तो अनुभूति भएको टिप्पणी गरे। उनले मन्त्रीहरू उपस्थित नभएसम्म विषयगत छलफल अघि बढाउन नसकिने अडान दोहोर्याए।
सभामुखले कार्यसूचीअनुसार छलफल अघि बढाउन आग्रह गरे पनि सांसद राईले नियमावलीअनुसार स्पष्ट व्यवस्था भए मात्र अघि बढ्ने बताए। उनले संसदको गरिमा र प्रक्रियागत अनुशासन कायम गर्नुपर्नेमा जोड दिए।
छलफलमा सहभागी अन्य सदस्यहरूले पनि मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूको उपस्थिति अनिवार्य हुनुपर्ने विषय उठाएका थिए। सभामुखले भने सम्बन्धित मन्त्रीहरू बैठकमा आउँदै गरेको जानकारी दिँदै कार्यसूची अघि बढाउन आग्रह गरेका थिए।
यस घटनापछि विनियोजन विधेयकसम्बन्धी छलफलमा संसदको कार्यशैली, मन्त्रीहरूको उपस्थिति र संसदीय अनुशासनबारे पुनः बहस चर्किएको छ।







