सम्पत्ति छानबिन आयोगमा ९,६०० ले बुझाए विवरण, उच्चपदस्थमाथि उजुरी बढ्दै
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । सरकारी तथा पूर्वपदाधिकारीहरूको सम्पत्ति छानबिनका लागि गठन गरिएको आयोगमा एक महिनाको अवधिमा ९,६०० भन्दा बढी व्यक्तिले सम्पत्ति विवरण बुझाएका छन्।
सम्पत्ति छानबिन आयोगका अनुसार पूर्वप्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, उच्च सरकारी कर्मचारी तथा सार्वजनिक संस्थानका पूर्वपदाधिकारीहरूले विवरण बुझाउने क्रम तीव्र बनेको छ। अन्तिम म्याद नजिकिँदै गर्दा दैनिक विवरण बुझाउनेको संख्या उल्लेख्य रूपमा बढेको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता गणेश केसीका अनुसार जेठ मसान्तसम्मको समयसीमामा अपेक्षित संख्यामा विवरण नआएपछि म्याद एक महिनाका लागि थपिएको हो। पछिल्लो समय दैनिक करिब २०० जनाले विवरण बुझाइरहेका छन् भने अन्तिम दिनहरूमा एकै दिन ५०० भन्दा बढी फारम दर्ता भएका छन्।
आयोगमा हालसम्म ५०० भन्दा बढी व्यक्तिविरुद्ध अकुत सम्पत्ति आर्जनको आरोपसहित उजुरी दर्ता भएको छ। उजुरीहरूमा पूर्वन्यायाधीश, पूर्वप्रशासक, पूर्वमन्त्री तथा अन्य उच्चपदस्थ व्यक्तिहरू संलग्न रहेको दाबी गरिएको छ।
सम्पत्ति विवरण बुझाउनेमध्ये ४०० भन्दा बढी पूर्वन्यायाधीश पनि रहेका छन्। विवरण बुझाउनेमा पूर्वप्रधानन्यायाधीशहरू रामकुमार प्रसाद शाह, गोपाल पराजुली र ओमप्रकाश मिश्र समेत रहेको आयोगले जनाएको छ।
आयोगले करिब ५० हजार पूर्व तथा बहालवाला पदाधिकारीलाई छानबिनको दायरामा ल्याउने तयारी गरेको छ। पहिलो चरणमा २०६२/६३ देखि हालसम्मको सम्पत्ति विवरण छानबिन गरिने र त्यसपछि २०४८ सालदेखिको विवरणसमेत समेटेर अनुसन्धान विस्तार गरिने बताइएको छ।
सम्पत्ति विवरण नबुझाउने व्यक्तिहरूको छुट्टै सूची तयार गरी विभिन्न स्रोतबाट उनीहरूको सम्पत्ति खोजी गरेर कानुनी प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ। आयोगका अनुसार हाल संकलन भइरहेको विवरणले सार्वजनिक पदमा रहेका तथा रहिसकेका व्यक्तिहरूको आर्थिक पारदर्शिताबारे विस्तृत चित्र तयार गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।







