रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन, अब भरतपुरमा आयोजना हुने
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरेको छ। यसअघि चितवनको टाँडी क्षेत्रमा रहेको होटलमा आयोजना गर्ने तयारी गरिए पनि अब महाधिवेशन भरतपुरस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालन हुने भएको छ।
पार्टीका अनुसार महाधिवेशन असार ७ देखि ९ गतेसम्म सञ्चालन हुनेछ। नयाँ व्यवस्थाअनुसार कार्यक्रम चितवन उद्योग संघ अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना गरिनेछ। रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले महाधिवेशनमा सहभागी प्रतिनिधि तथा अतिथिहरूका लागि सौराहा, रत्ननगर र भरतपुरका विभिन्न होटलहरूमा आवासको व्यवस्था मिलाइएको जानकारी दिए।
महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउन पार्टीको स्थानीय, जिल्ला र नगर समितिहरू, जिल्लास्थित केन्द्रीय सदस्यहरू तथा प्रतिनिधिसभा सदस्यहरूको समन्वयमा १८ वटा उपसमिति गठन गरिएको उनले बताए। ती उपसमितिहरूले व्यवस्थापन, आवास, यातायात, प्रचारप्रसार, प्रतिनिधि समन्वय लगायतका जिम्मेवारी सम्हालिरहेका छन्।
रास्वपाको स्थापना पश्चात् हुन लागेको यो पहिलो राष्ट्रिय महाधिवेशन भएकाले पार्टीको भावी नेतृत्व, संगठनात्मक संरचना तथा राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ। महाधिवेशनलाई सफल बनाउन तयारी तीव्र पारिएको पार्टीले जनाएको छ।







