नेप्सेमा सामान्य गिरावट, कारोबार ४ अर्ब रुपैयाँ नाघ्यो
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। लगातार दोस्रो दिन बजारमा गिरावट देखिए पनि कारोबार रकम भने ४ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।
मंगलबार नेप्से परिसूचक ६.३१ अंकले घटेर २,७०५.४५ विन्दुमा कायम भएको छ। अघिल्लो कारोबार दिन सोमबार पनि बजार १२.२६ अंकले घटेर २,७११.७६ विन्दुमा बन्द भएको थियो। नेप्सेका अनुसार आज ३५५ वटा कम्पनीका १ करोड ७ लाख ८ हजार ५९६ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार ८४ रुपैयाँ पुगेको छ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो। उक्त कम्पनीको सेयरमा करिब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसपछि सिद्धार्थ बैंकको १८ करोड रुपैयाँ, रिलायन्स स्पिनिङ मिल्सको १५ करोड रुपैयाँ, रावा इनर्जी डेभलपमेन्टको १३ करोड रुपैयाँ तथा बुंगल हाइड्रोको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन दुई कम्पनीका सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगे। सोपान फर्मास्युटिकल्स र अपोलो हाइड्रोपावरका लगानीकर्ताले उच्च प्रतिफल प्राप्त गरेका छन्। बजारमा कारोबार भएका कम्पनीहरूमध्ये ८० कम्पनीको सेयर मूल्य बढ्दा १७७ कम्पनीको मूल्य घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ। यसले बजारमा बिक्री दबाब केही बढी रहेको संकेत गरेको छ।
क्षेत्रगत रूपमा हेर्दा म्युचुअल फण्ड र ट्रेडिङ समूहका उपसूचक मात्रै बढेका छन्। अन्य सबै समूहका उपसूचक नकारात्मक रहँदा समग्र बजारमा दबाब देखिएको हो। विश्लेषकहरूका अनुसार बजारमा कारोबार रकम उत्साहजनक रहे पनि अधिकांश कम्पनीको मूल्य घटेकाले लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ। आगामी दिनमा बैंकिङ प्रणालीमा तरलता, ब्याजदरको अवस्था तथा बजेटपछिको बजार मनोविज्ञानले नेप्सेको दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।







