सुकुमवासी समस्या समाधान गर्न सांसद हर्क साम्पाङको माग

User Image Prime TV News एक घण्टा अगाडि
Image of सुकुमवासी समस्या समाधान गर्न सांसद हर्क साम्पाङको माग

काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशका विभिन्न क्षेत्रमा रहेका भूमिहीन तथा सुकुमवासीहरूको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राजविराजमा करिब ८५ वर्षदेखि बसोबास गर्दै आएका नागरिकहरू धनीपुर्जा (लालपुर्जा) को माग गर्दै एक महिनादेखि आन्दोलनरत रहेको जानकारी गराए। उनका अनुसार करिब ७० बिघा क्षेत्रफलमा बसोबास गर्ने स्थानीय बासिन्दाले वर्षौंदेखि नगरपालिकालाई कर तिर्दै आए पनि जग्गाको स्वामित्व प्रमाणपत्र नपाउनु अन्यायपूर्ण अवस्था हो।

सांसद राईले रामधुनी–७ अन्तर्गत रहेको ६४ बिघा जग्गाको विषय पनि संसदमा उठाए। उनले ६६ वर्षदेखि बसोबास गरिरहेका स्थानीयले अझै लालपुर्जा प्राप्त गर्न नसकेको र अहिले नक्कली जग्गाधनी खडा गरेर उनीहरूलाई दुःख दिने प्रयास भइरहेको आरोप लगाए।

सीमावर्ती क्षेत्रका समस्याबारे बोल्दै उनले नेपाली भूभाग डुबानमा पार्ने गरी गरिएका अन्तरदेशीय सम्झौताहरू राष्ट्रहितविपरीत हुन सक्ने भन्दै सरकारलाई गम्भीर हुन आग्रह गरे। विशेषगरी गौर नजिक भारतले लाल बकैया नदी र वागमती नदी मा निर्माण गरेका उच्च बाँधका कारण नेपाली भूभाग डुबानमा पर्ने गरेको रिपोर्ट आएको उनले बताए।

सांसद राईले सीमा क्षेत्रमा दोहोरिने डुबान, भूमिहीन नागरिकहरूको जग्गा स्वामित्व समस्या तथा माइतीघर मण्डलामा विभिन्न माग राखेर लामो समयदेखि आन्दोलनरत नागरिकहरूको विषयमा सरकारको ध्यानाकर्षण गराए। उनले विशेष रूपमा गृहमन्त्रीलाई आन्दोलनरत समूहका माग सम्बोधन गर्न पहल गर्न आग्रह गरे।

त्यस्तै, उनले प्रधानमन्त्री बालेन शाहको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने भनिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरेका छन्। प्रतिनिधिसभामा भूमिहीन, सुकुमवासी, सीमा सुरक्षा तथा डुबान समस्यासम्बन्धी विषयहरू लगातार उठिरहेका बेला सांसद राईले यी मुद्दामा ठोस सरकारी पहल आवश्यक रहेको बताएका छन्।