बैंकिङ कसुर तथा ठगी आरोपमा पक्राउ परेका सेफ सन्तोष साह साधारण तारेखमा रिहा

User Image Prime TV News एक घण्टा अगाडि
Image of बैंकिङ कसुर तथा ठगी आरोपमा पक्राउ परेका सेफ सन्तोष साह साधारण तारेखमा रिहा

काठमाडौ । सेफ सन्तोष साह बैंकिङ कसुर तथा ठगीसम्बन्धी आरोपमा पक्राउ परेपछि साधारण तारेखमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई सोमबार रिहा गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले साहलाई साधारण तारेखमा रिहा गरिएको जानकारी दिए। उनी शनिबार जनकपुरबाट पक्राउ परेका थिए। प्रहरीका अनुसार सकुन्तला अधिकारी (थापा) ले साहविरुद्ध उजुरी दिएकी थिइन्। होटल खरिद गर्ने बहानामा रकम लिएर भुक्तानी नगरी ठगी गरेको आरोपमा अनुसन्धान अघि बढाइएको थियो।

यसअघि पनि साहविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको थियो। अदालतले २०८२ जेठ ३० गते २५ लाख रुपैयाँ बिगो, १ लाख २५ हजार रुपैयाँ जरिवाना तथा एक महिनाको कैद सजाय सुनाएको थियो।

प्रहरीका अनुसार उक्त फैसलाविरुद्ध पुनरावेदन गर्ने कानुनी अवधि अझै बाँकी रहेकाले उनलाई तत्काल हिरासतमा नराखी साधारण तारेखमा रिहा गरिएको हो। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। अदालतमा पुनरावेदन प्रक्रिया र ठगीसम्बन्धी उजुरीको अनुसन्धानको नतिजाले आगामी कानुनी प्रक्रिया तय गर्नेछ।