पूर्वाधार विकास समितिको बैठकमा मन्त्री लम्साल अनुपस्थित, सांसदहरूको असन्तुष्टि

User Image Prime TV News २ घण्टा अगाडि
Image of पूर्वाधार विकास समितिको बैठकमा मन्त्री लम्साल अनुपस्थित, सांसदहरूको असन्तुष्टि

काठमाडौ । सुनिल लम्साल प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा अनुपस्थित भएपछि सांसदहरूले आपत्ति जनाएका छन्। समितिको बैठकमा मन्त्रीको अनुपस्थितिलाई लिएर सांसदहरूले सरकारको जवाफदेहितामाथि प्रश्न उठाएका हुन्।

बैठकका क्रममा सांसद बासना थापाले मन्त्रीको अनुपस्थितिलाई हालै विवादमा आएको उनको अभिव्यक्तिसँग जोड्दै प्रश्न गरिन्, “खुट्टा भाँच्ने अभिव्यक्तिबारे जवाफ दिनुपर्छ भनेर मन्त्री नआउनुभएको हो ?” समितिका सभापति आशिष गजुरेलले मन्त्रीलाई बैठकबारे पटक–पटक जानकारी गराइएको बताए।

उनका अनुसार मन्त्री धुलिखेलस्थित एक कार्यक्रममा सहभागी भएकाले बैठकमा उपस्थित हुन नसकेको र फर्किने क्रममा रहेको जानकारी प्राप्त भएको थियो। तथापि, सम्बन्धित मन्त्रीको उपस्थितिमा छलफल हुनु उपयुक्त हुनेमा सबै सदस्य सहमत रहेको उनले बताए।

त्यसैगरी भरतकुमार स्वारले समितिमा मन्त्री उपस्थित नभएपछि सांसदहरूले आफ्ना विषयवस्तु कसलाई सुनाउने भन्ने प्रश्न उठाए। जवाफमा सभापति गजुरेलले मन्त्रीले समितिप्रति अझ गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्दै आफू पनि त्यसमा सहमत रहेको बताए।

केही दिनअघि मन्त्री लम्सालले नौबिसे–मलेखु सडक खण्डको अनुगमनका क्रममा बिजुलीका पोल सार्ने जिम्मेवारी पाएको ठेकेदारप्रति कडा टिप्पणी गरेका थिए। उनले काममा ढिलाइ भएको भन्दै ठेकेदारको “खुट्टा भाँच्ने” सम्मको अभिव्यक्ति दिएका थिए, जसले सार्वजनिक रूपमा व्यापक चर्चा र आलोचना निम्त्याएको थियो।

सांसदहरूले मन्त्रीको अनुपस्थितिप्रति चासो व्यक्त गरिरहेपछि सभापति गजुरेलले अर्को बैठक मन्त्रीको उपस्थितिमै आयोजना गरिने आश्वासन दिएका छन्। समितिले पूर्वाधार आयोजनाको प्रगति, ठेक्का व्यवस्थापन तथा निर्माण कार्यमा देखिएका समस्याबारे मन्त्रीसँग प्रत्यक्ष छलफल गर्ने अपेक्षा राखेको छ।