प्रतिनिधिसभामा प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमाथि पुनः विरोध, स्पष्ट जवाफको माग
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले यसअघि दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर आज पनि सांसदहरूले विरोध जनाएका छन्। उनीहरुले सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन्।
बैठकमा प्रमेश हमालले प्रधानमन्त्रीले जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिबारे सरकारसँग स्पष्ट जवाफ माग गरे। नेपालले भारतको भूमि मिचेको भन्ने विषय उठेपछि प्रधानमन्त्रीले दिएको प्रतिक्रियाले राष्ट्रिय हित र सीमासम्बन्धी संवेदनशील विषयमा अन्योल सिर्जना गरेको उनको भनाइ थियो।
सांसद हमालले प्रधानमन्त्रीका यस्ता अभिव्यक्ति पटक–पटक दोहोरिने गरेको उल्लेख गर्दै केवल विरोध जनाएर मात्र समस्या समाधान नहुने बताए। उनले सरकारबाट स्पष्ट धारणा र जिम्मेवार जवाफ आवश्यक रहेको धारणा राखे।
उनले परराष्ट्रमन्त्रीसँग हाल चर्चामा रहेको त्रिदेशीय सीमासम्बन्धी विषयमा चीन सँग कुनै औपचारिक संवाद भएको छ कि छैन भन्नेबारे जानकारी दिन पनि माग गरे। बैठकमा उनले नेपालको सार्वभौमिकता र सीमा सुरक्षासँग सम्बन्धित विभिन्न घटनाहरू उठाउँदै सुस्तामा भारतीय नागरिकको प्रवेश, दार्चुलाको नेपाली आकाशमा हेलिकप्टर प्रवेश तथा नेपाली चिया निर्यातमा देखिएका अवरोधबारे सरकारको ध्यानाकर्षण गराए।
यसैगरी नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीले मात्र जवाफ दिएर नपुग्ने बताइन्। उनले प्रधानमन्त्री स्वयंले संसदमा आएर स्पष्ट धारणा राख्नुपर्ने माग गरिन्। त्यस्तै टुकाभद्रा हमालले पनि प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसद्को अभिलेख (रेकर्ड) बाट हटाउनुपर्ने धारणा व्यक्त गरिन्।
सांसदहरूको मागपछि प्रधानमन्त्रीको उक्त अभिव्यक्ति, सीमासम्बन्धी सरकारी नीति तथा परराष्ट्र सम्बन्धका विषयहरू संसदमा थप बहसको केन्द्र बन्ने देखिएको छ।







