प्रतिनिधिसभामा आज बजेटमाथि छलफल, विभिन्न मन्त्रालयको खर्च कटौती प्रस्ताव पनि प्रस्तुत हुने

User Image Prime TV News २ घण्टा अगाडि
Image of प्रतिनिधिसभामा आज बजेटमाथि छलफल, विभिन्न मन्त्रालयको खर्च कटौती प्रस्ताव पनि प्रस्तुत हुने

काठमाडौ । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायको बजेटमाथि छलफललाई निरन्तरता दिइने कार्यसूची रहेको छ।

आजको बैठकमा विभिन्न मन्त्रालयहरूको बजेटमाथि एकीकृत रूपमा छलफल हुने भएको छ। छलफलका लागि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय समावेश छन्।

बैठकमा विभिन्न सांसदहरूले मन्त्रालयहरूको विनियोजित खर्च रकम घटाउन खर्च कटौती प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यसअनुसार गुरु प्रसाद बराल, रमेश कुमार मल्ल, विष्णु माया वि.क., ऐन बहादुर महर, पुष्प राज कँडेल र पद्मा कुमारी अर्यालले सम्बन्धित मन्त्रालयको खर्च रकम घटाएर एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।

त्यसैगरी मोहम्मद इस्तियाक राईले पूर्वाधार विकास मन्त्रालयको बजेट तथा परशुराम तामाङले अर्थ मन्त्रालयको बजेट खर्च घटाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।

बैठकको अन्त्यमा सभामुखले प्रतिनिधिसभाका पूर्व सदस्य मंगल प्रसाद गुप्ता को निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको छ।