नेपाल–चीन वार्ता : सीमा, कनेक्टिभिटी र आर्थिक सहकार्यमा जोड
Prime TV News ५ घण्टा अगाडि 
काठमाडौ । चारदिने चीन भ्रमणमा रहेका शिशिर खनाल र उनका चिनियाँ समकक्षी वाङ यी बीच सोमबार बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको छ। भेटमा सीमा व्यवस्थापनदेखि पूर्वाधार र कनेक्टिभिटीसम्मका विषयमा छलफल भएको छ।
भेटका क्रममा मन्त्री खनालले ‘एक चीन सिद्धान्त’प्रति नेपाल सरकारको प्रतिबद्धता पुनः दोहोर्याएका छन्। साथै नेपाली भू–भाग चीनविरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने नेपालको अडान पनि पुनः व्यक्त गरिएको बताइएको छ।
जवाफमा वाङ यीले नेपालको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्रताप्रति चीनको समर्थन दोहोर्याएका छन्। उनले नेपाल सरकारले अघि सारेका सुशासन र आर्थिक विकासका प्राथमिकताअनुसार सहकार्य गर्न चीन तयार रहेको उल्लेख गरेका छन्।
वार्तामा नेपाल–चीन सम्बन्धलाई व्यावहारिक र दीर्घकालीन सहकार्यतर्फ लैजाने विषयमा पनि जोड दिइएको थियो। मन्त्री खनालले नवप्रवर्तनलाई आत्मसात गर्दै मूल सिद्धान्त कायम राख्ने चिनियाँ अवधारणासँग नेपालको विकास चाहना मेल खाने धारणा राखेका थिए।
दुवै पक्षले पारस्परिक सम्मान कायम राख्ने, एकअर्काका प्राथमिकता र संवेदनशीलतालाई सम्मान गर्ने प्रतिबद्धता पुनः व्यक्त गरेका छन्।
छलफलमा पूर्वाधार विकास, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेसनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि जोड दिइएको छ।
त्यसैगरी पर्यटन, रासायनिक मल, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास अन्वेषण तथा नागरिकस्तरको सम्बन्ध विस्तार गर्ने क्षेत्रमा पनि सहकार्य अघि बढाउने समझदारी भएको जनाइएको छ। दुवै पक्षले विगतमा भएका सहमति तथा समझदारीहरू कार्यान्वयन गर्ने प्रतिबद्धता समेत दोहोर्याएका छन्।







