लुकाकुको प्रभावमा बेल्जियम जोगियो, इजिप्टसँग १–१ को बराबरी
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक खेलमा बेल्जियम र इजिप्टले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
अमेरिकाको सियाटल स्थित स्टेडियममा भएको खेलमा इजिप्ट जितको निकै नजिक पुगे पनि अन्तिम समयमा दबाब कायम राख्न सकेन।
खेलको १९ औं मिनेटमा इजिप्टले अग्रता बनाएको थियो। मिडफिल्डर इमाम आसुर ले करिब २० यार्ड टाढाबाट शानदार प्रहार गर्दै अन्तर्राष्ट्रिय करियरको पहिलो गोल गरे।
कप्तान मोहम्मद सालाह को पासमा आएको अवसरलाई उनले उत्कृष्ट रूपमा सदुपयोग गरे। बलको दिशा र गति अनुमान गर्न नसक्दा थिबाउट कोर्टुवा गोल बचाउन असफल भए।
पहिलो हाफमा बेल्जियमले बल नियन्त्रणमा राम्रो प्रदर्शन गरे पनि आक्रमणलाई प्रभावकारी बनाउन सकेन। इजिप्टले सीमित अवसरमा पनि खतरा सिर्जना गरिरहेको थियो।
दोस्रो हाफमा बेल्जियमले खेलको गति बढायो। खेल परिवर्तन गर्ने उद्देश्यसहित ६६ औं मिनेटमा प्रशिक्षकले स्ट्राइकर रोमेलु लुकाकु लाई मैदानमा उतारे।
मैदान प्रवेश गरेको केही सेकेन्डमै उनले आक्रमण निर्माण गरे र सोही क्रममा इजिप्टका डिफेन्डरको खुट्टामा ठोक्किएको बल आत्मघाती गोलमा परिणत भयो। त्यससँगै बेल्जियम खेलमा १–१ को बराबरीमा फर्कियो।
इजिप्टका प्रशिक्षक होसाम हसन ले सालाहलाई सेन्ट्रल भूमिकामा खेलाउने रणनीति अपनाएका थिए, जसले सुरुवाती चरणमा राम्रो परिणाम दिएको देखियो। तर अन्त्यसम्म अग्रता जोगाउन टोली सफल भएन।
बाँकी समयमा दुवै टोलीले अवसर बनाए पनि थप गोल हुन नसकेपछि खेल बराबरीमा टुंगियो। यो नतिजाले समूह ‘जी’ को प्रतिस्पर्धा थप खुला बनाएको छ।







