स्पेनलाई नवप्रवेशी केप भर्डेले गोलरहित बराबरीमा रोक्यो
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन अप्रत्याशित रूपमा नवप्रवेशी केप भर्डे सँग गोलरहित बराबरीमा रोकिएको छ।
अमेरिकाको एटलान्टा मा रहेको एट्लान्टा रंगशालामा भएको खेलमा स्पेनले सुरुदेखि नै दबदबा कायम गरेको थियो। बल नियन्त्रण, पास र आक्रमणमा स्पष्ट रूपमा अगाडि देखिए पनि टोलीले गोल निकाल्न सकेन।
खेलभर स्पेनले ७४ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्दै लगातार अवसर सिर्जना गर्यो। स्पेनका खेलाडीहरूले केप भर्डेको पोस्टमा धेरै प्रहार गरे पनि विपक्षी गोलरक्षकले उत्कृष्ट प्रदर्शन गरे।
केप भर्डेका गोलकिपर भोजिन्हा खेलका नायक बने। उनले स्पेनका ८ वटा सट अन टार्गेटसहित थुप्रै खतरनाक प्रहार बचाउँदै टोलीलाई ऐतिहासिक अंक दिलाए।
सन् २०१० को विश्व विजेता स्पेनले पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेविरुद्ध सहज जित निकाल्ने अपेक्षा गरिएको थियो। तर स्टार खेलाडी लामिन यामाल र निको विलियम्स मैदानमा हुँदा पनि टोली निर्णायक गोल गर्न असफल रह्यो।
फिफा वरियतामा तेस्रो स्थानमा रहेको स्पेन ६४औँ स्थानको केप भर्डेसँग अंक बाँड्न बाध्य भएपछि समूह चरणको प्रतिस्पर्धा थप रोचक बनेको छ।







