विराटनगरमा कांग्रेसको ‘एकता भेला’, शीर्ष नेताहरूले देखाए फरक धारणा
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसभित्र एकताको पक्षमा दबाब सिर्जना गर्ने उद्देश्यले देउवा, कोइराला र सिटौला समूहले विराटनगरमा प्रदेशस्तरीय ‘बृहत् एकता भेला’ आयोजना गरेका छन्।
भेलामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा नेता तथा कार्यकर्ताको सहभागिता भए पनि १४ जिल्लाका कुनै पनि जिल्ला सभापति सहभागी भएनन्। यद्यपि, उपसभापति, सचिव तथा अन्य नेताहरूको उपस्थिति उल्लेख्य थियो।
कार्यक्रममा कोशी प्रदेश कांग्रेसका महामन्त्रीद्वय उमेश थापा र भूपेन्द्र राई सहभागी भए। भूपेन्द्र राईले कार्यक्रमको सभापतित्व गरेका थिए। तर, कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्व प्रदेश सभापति उद्धव थापा भने कार्यक्रममा अनुपस्थित रहे। उनीसँग निकट मानिने प्रमुख सचेतक गोपाल तामाङ पनि कार्यक्रममा देखिएनन्।
भेलालाई सम्बोधन गर्दै विभिन्न नेताहरूले पार्टीभित्रको वर्तमान अवस्थाबारे खुला टिप्पणी गरे। केही वक्ताले पार्टी नेतृत्वको आलोचना गर्दै कांग्रेसभित्र गुटबन्दी बढेको बताए। विशेषगरी महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मामाथि आलोचना केन्द्रित भएको देखियो।
पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले नयाँ पुस्ताका नेताहरूले पार्टी सञ्चालनको शैली सिक्नुपर्ने टिप्पणी गरे। उनले पुराना नेताहरूलाई पाखा लगाउने प्रयास भइरहेको भन्दै असन्तुष्टि जनाए। कार्यक्रममा बोल्दै नेता उमेशजङ्ग रायमाझीले वर्तमान नेतृत्वमाथि प्रश्न उठाउँदै पार्टीलाई सही दिशा दिन नसकेको आरोप लगाए।
कोइराला दाजुभाइको फरक धारणा
भेलाको अर्को विशेष पक्ष भनेको कोइराला दाजुभाइको फरक धारणा थियो। पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले कांग्रेस व्यवहारिक रूपमा विभाजित भइसकेको टिप्पणी गरे। उनले पार्टीभित्रको वर्तमान अवस्था चिन्ताजनक रहेको भन्दै कांग्रेस एकजुट देखिए पनि व्यवहारमा विभाजित रहेको दाबी गरे।
यता, नेता डा. शेखर कोइरालाले भने पार्टी फुट्न नदिने अडान दोहोर्याए। उनले कांग्रेसभित्र मतभेद र विवाद भए पनि कुनै पनि हालतमा पार्टी विभाजन हुन नदिने बताए। “कांग्रेसलाई कमजोर बनाउने कुनै प्रयास सफल हुन दिइने छैन। पार्टीभित्र समस्या छन्, तर समाधान पनि पार्टीभित्रै खोज्नुपर्छ,” उनले भने।
एकताको सन्देश, तर मतभेद कायमै
भेलालाई ‘एकता भेला’ नाम दिइए पनि कार्यक्रममा व्यक्त विचारहरूले कांग्रेसभित्रको आन्तरिक असन्तुष्टि र गुटीय राजनीति अझै कायम रहेको संकेत दिएका छन्। शीर्ष नेताहरूले एकताको आवश्यकता औँल्याए पनि पार्टीको भविष्य र नेतृत्वबारे फरक–फरक धारणा सार्वजनिक भएपछि कांग्रेसभित्रको शक्ति समीकरण फेरि चर्चामा आएको छ।







