माओवादीद्वारा सचिवालय सदस्य उमा भुजेललाई जिम्मेवारीमुक्त
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले पार्टीकी सचिवालय सदस्य उमा भुजेल ‘सिलु’लाई सबै जिम्मेवारीबाट मुक्त गरेको छ। पार्टीको केन्द्रीय सचिवालय बैठकले सिलुलाई केन्द्रीय समिति सदस्यसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।
पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’द्वारा जारी विज्ञप्तिमा पार्टी कार्यदिशा, नेतृत्व र जनक्रान्तिविरुद्ध गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै उनीमाथि कारबाही गरिएको उल्लेख छ। विज्ञप्तिअनुसार केन्द्रीय समिति बैठकपछि महासचिवसँग गम्भीर छलफल चलिरहेका बेला सिलुले पार्टीको नीति र नेतृत्वविरुद्ध भड्काउ गतिविधि गरेको निष्कर्ष निकालिएको छ।
सोही आधारमा उनलाई सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको जनाइएको छ। उमा भुजेल ‘सिलु’ माओवादी द्वन्द्वकालमा गोरखा जेल ब्रेक घटनापछि चर्चामा आएकी नेतृ हुन्। पार्टीले जारी गरेको विज्ञप्तिमा सचिवालय बैठकले राजनीतिक, सांगठनिक, संघर्ष तथा प्रकाशन क्षेत्रसँग सम्बन्धित अन्य महत्वपूर्ण निर्णयहरू पनि गरेको उल्लेख गरिएको छ।
यद्यपि ती निर्णयहरूको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।








