बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड, विकास खर्चलाई प्राथमिकता

User Image Prime TV News ६ घण्टा अगाडि
Image of बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड, विकास खर्चलाई प्राथमिकता

काठमाडौ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

सोमबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले बजेट प्रस्तुत गर्दै विकास निर्माण र आर्थिक गतिविधि विस्तारलाई प्राथमिकतामा राखिएको बताए। कुल बजेटमध्ये चालु खर्चतर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ३४.३१ प्रतिशत हो।

पुँजीगत अर्थात् विकास खर्चतर्फ ४३ अर्ब ९७ करोड १४ लाख रुपैयाँ छुट्याइएको छ, जुन कुल बजेटको ६५.६९ प्रतिशत रहेको छ। बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापनबारे जानकारी दिँदै मन्त्री तामाङले राजस्व बाँडफाँट तथा प्रदेशको आन्तरिक राजस्वबाट ३० अर्ब १५ करोड ६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको बताए।

अन्य राजस्व स्रोतबाट ७ अर्ब ७३ करोड रुपैयाँ संकलन हुने लक्ष्य राखिएको छ। त्यस्तै, संघीय सरकारबाट विभिन्न शीर्षकमा १५ अर्ब ३१ करोड ४८ लाख रुपैयाँ अनुदान प्राप्त हुने अपेक्षा गरिएको छ। प्रदेश सञ्चित कोष तथा अन्य बचत स्रोतबाट १२ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

बजेटमा देखिएको अपुग रकम अन्य संस्था तथा ऋण लगानी फिर्ताबाट प्राप्त हुने ९६ करोड रुपैयाँबाट व्यवस्थापन गरिने जनाइएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी सिर्जना तथा सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेर बजेट कार्यान्वयन गर्ने जनाएको छ।