गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड, विकास खर्चमा बढी जोड ( पूर्णपाठ सहित )
Prime TV News ८ घण्टा अगाडि 
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै विकास र समृद्धिलाई प्राथमिकतामा राखिएको बताएका छन्।
कुल बजेटमध्ये २० अर्ब २ करोड ६१ लाख रुपैयाँ पूँजीगत अर्थात् विकास खर्चका लागि विनियोजन गरिएको छ। यो कुल बजेटको ६०.६८ प्रतिशत हो। चालु खर्चतर्फ १२ अर्ब ७२ करोड ३७ लाख रुपैयाँ छुट्याइएको छ, जुन कुल बजेटको ३८.५६ प्रतिशत हो। वित्तीय व्यवस्थापनका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
बजेटको स्रोततर्फ संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबापत ७ अर्ब ८४ करोड ८२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। राजस्व बाँडफाँटबाट १० अर्ब १६ करोड ४७ लाख रुपैयाँ, रोयल्टी बाँडफाँटबाट ५१ करोड ४८ लाख रुपैयाँ तथा सशर्त अनुदानबाट ३ अर्ब ९३ करोड ३ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।
त्यस्तै, समपूरक अनुदानबाट ५५ करोड ४६ लाख रुपैयाँ र विशेष अनुदानबाट ३९ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। प्रदेश सरकारले आन्तरिक राजस्वबाट ५ अर्ब ८४ करोड १८ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।
साथै, चालु आर्थिक वर्षको कार्यक्रम सम्पन्न भएपछि २ अर्ब रुपैयाँ नगद मौज्दात रहने अनुमान गरिएको छ। बजेटमा देखिएको १ अर्ब ७५ करोड रुपैयाँको कमी आन्तरिक ऋणमार्फत पूर्ति गरिने जनाइएको छ। मन्त्री शेरचनले चालु खर्च नियन्त्रण गर्दै विकास खर्च बढाउने नीति लिइएको बताए। कर्मचारीको तलब वृद्धि भए पनि चालु खर्चलाई गत वर्षको तुलनामा घटाउन सफल भएको उनको दाबी छ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षमा पूर्वाधार विकास, आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना र सार्वजनिक सेवा सुधारलाई प्राथमिकतामा राखेर बजेट कार्यान्वयन गर्ने जनाएको छ।







