कोशी प्रदेशको बजेट ४० अर्ब ४४ करोड, पूर्वाधार र विकासमा जोड

User Image Prime TV News १० घण्टा अगाडि
Image of कोशी प्रदेशको बजेट ४० अर्ब ४४ करोड, पूर्वाधार र विकासमा जोड

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ्थेपले बजेट प्रस्तुत गरेका हुन्।

कुल बजेटमध्ये चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ र पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ विनियोजन गरिएको छ। वित्तीय व्यवस्थापनका लागि १५ करोड रुपैयाँ छुट्याइएको छ। सरकारका अनुसार चालु खर्च कुल बजेटको ३४.५५ प्रतिशत र पुँजीगत खर्च ५१.३२ प्रतिशत रहेको छ।

विकास निर्माणका कामलाई प्राथमिकता दिँदै पुँजीगत खर्चमा बढी रकम विनियोजन गरिएको सरकारले जनाएको छ। बजेटका लागि प्रदेश सरकारले आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। त्यस्तै संघीय सरकारबाट राजस्व बाँडफाँटमार्फत १२ अर्ब ८७ करोड, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब १२ करोड, सशर्त अनुदानबाट ५ अर्ब ९५ करोड तथा समपूरक अनुदानबाट ६४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

प्रदेश सरकारले ल्याएको नयाँ बजेट चालु आर्थिक वर्षको बजेटभन्दा १२.७४ प्रतिशतले बढी हो। चालु आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याइएको थियो। पछि स्रोत व्यवस्थापन र खर्चको अवस्थालाई ध्यानमा राख्दै बजेटको आकार घटाएर ३२ अर्ब ४५ करोड ६४ लाख रुपैयाँमा सीमित गरिएको थियो।

सरकारले आगामी आर्थिक वर्षमा पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर बजेट कार्यान्वयन गर्ने जनाएको छ।